शहरी क्षेत्रमा जोखिम कायमै, ग्रामीण क्षेत्र ‘हटस्पट’ बन्‍न सक्छ

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

तीन साताअघि ४४.६७ प्रतिशत रहेको कोरोना संक्रमणदर ३४.१८ प्रतिशतमा झर्न दुई साता लाग्यो । तेस्रो सातामा ३१.३५ मा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो केही दिनयता संक्रमणदर ३० प्रतिशतको हाराहारीमा यथावत् छ ।

निषेधाज्ञा लगाएको ३७ दिन पुगिसक्दा संक्रमणदर सकारात्मक तरिकाले नघट्नुले महामारी समुदायमा भयावह तरिकाले फैलिएको बुझाउने महामारीविज्ञ डा.केदार बराल बताउँछन् । उनका अनुसार समुदायमा संक्रमण भित्रभित्रै फैलिएकाले संक्रमणदर हेरेर मात्र अझै केही भन्न सक्ने अवस्था छैन ।

‘सामान्यतया निषेधाज्ञा लगाएको दुई हप्तामा संक्रमणदर धेरै नै घट्नुपर्ने हो, तर हाम्रोमा एकदम ढिलो घटिरहेको छ । पछिल्लो केही दिन यताको ट्रेण्ड यथावत् रहनुले समुदायस्तरमा परीक्षण आवश्यक रहेको संकेत गरेको छ’, डा. बराल भन्छन् ।

समुदायमा १०० जनामा संक्रमण देखियो भने २ हजारदेखि २५०० जनामा संक्रमण छ भनेर बुझ्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला बताउँछन् । समुदायस्तरमा परीक्षण नभएको हाम्रो जस्तो ठाउँमा त्यो संख्या बढी हुन्छ ।

गत डिसेम्बरमा विश्व स्वास्थ्य संगठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सेरोप्रिभलेन्स सर्वेक्षणको नजिताले कुल जनसंख्याको १३ प्रतिशत अर्थात् झण्डै ३९ लाख संक्रमित भएको देखाएको थियो । जबकि सरकारी आँकडामा कुल संक्रमणको तथ्यांक दुई लाख आसपास मात्र थियो ।

अहिले सरकारी आँकडामा नै कुल संक्रमितको सख्ंया ६ लाख नजिक पुगिसकेको छ । डा. कोइराला काठमाडौं उपत्यकामा ५० प्रतिशत भन्दा बढी र काठमाडौं बाहिर ४० प्रतिशत हाराहारीमा संक्रमण फैलिएको हुनसक्ने बताउँछन् ।

प्रकाशित मिति: : 2021-06-04 21:59:00

प्रतिकृया दिनुहोस्