स्नातक तह पहिलो वर्षमा दुई ‘ब्याच’ का विद्यार्थी !

अनलाइनखबर

काठमाडौँ

नुनुता राई

सिन्धुपाल्चोक, चौताराका सुशील नेपाली रत्नराज्य (आरआर) क्याम्पसमा मानविकी संकाय स्नातक पहिलो वर्षका सिनियर ब्याचका विद्यार्थी हुन् । उनी पहिलो वर्षमा भर्ना भएको १९ महीना भयो । उनी पछाडि अर्को ब्याच पनि पहिलो वर्षमा भर्ना भइसकेको छ । सुशीलले अझै पनि परीक्षा दिन पाएका छैनन् ।

सामान्य अवस्था भएको भए उनी यतिबेला स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका अथवा सकेका हुन्थे । तर उनले पहिलो वर्षकै परीक्षा अझै पनि दिन पाएका छैनन् । बल्ल केही दिनअघि अनलाइन परीक्षा फारम भरेका छन् ।

कोरोना महामारीका कारण एउटा मात्रै क्षेत्र प्रभावित भएको छैन । यसले मानव स्वास्थ्यसँगै व्यापार, व्यवसाय, उद्योग, रोजगारदेखि ‘भविष्यका कर्णधार’ मानिने विद्यार्थी वर्गलाई पनि ठूलो मारमा पारेको छ ।

महामारीले विद्यालय जाने उमेरका कैयौं विद्यार्थी विद्यालय भर्ना हुनै पाएका छैनन् भने विद्यालय र कलेज गइरहेका विद्यार्थीको सिकाइ प्रक्रिया नै अवरुद्ध भएको छ । कैयौंले परीक्षा नै दिन पाएका छैनन् ।

महामारीले सबै तहका विद्यार्थी मारमा परेका छन् । परीक्षा समयमा हुन नसक्दा विद्यार्थीमा अन्योल छाएको छ । यसबाट सबैभन्दा बढी प्रभावित स्नातक तहका विद्यार्थी भएका छन् ।

स्नातक तह पहिलो वर्ष अध्ययनरत विद्यार्थी परीक्षा दिनबाटै वञ्चित छन् । अहिले स्नातक तहको पहिलो वर्षमा विद्यार्थी सिनियर, जुनियर भएर अध्ययन गरिरहेको अध्ययनरत विद्यार्थी बताउँछन् ।

सिनियर ब्याचका विद्यार्थीको पाठ्यक्रम सकिएको भनेर अनलाइन कक्षा पनि सञ्चालनमा छैन । जुनियर अर्थात् नयाँ भर्ना भएका विद्यार्थीको भने अनलाइन कक्षा सञ्चालन भइरहेको छ । त्यसमा इच्छा हुने सिनियर ब्याचका विद्यार्थी पनि जोडिनसक्ने सुविधा भने क्याम्पसहरूले दिएका छन् ।

प्रकाशित मिति: : 2021-06-06 17:00:00

प्रतिकृया दिनुहोस्