जुम्लाको कारागारमा पनि कोरोना सङ्क्रमण फैलिएको छ।
कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना सङ्क्रमण देखिएको हो। कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो।
कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना सङ्क्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए।
उनले भने, 'सङ्क्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।' अन्य सङ्क्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ। कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने सङ्क्रमणका लक्षण नदेखिएको जनाएको छ।
आइतबारसम्म जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको छ। यस्तै कोरोना सङ्क्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन्। कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा सङ्क्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ। रासस