देश सम्झेर अस्पताललाई सहयोग

File photo
File photo

जापानलाई कर्मथलो बनाएका यहाँका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन्। 

बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गरेका हुन्। 

स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। 

कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्री/औषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताए। 

'अस्पतालमा अक्सिजन अभाव भएको खबर थाहा पाएपछि जेजति सकिन्छ सहयोग गरौँ भन्ने सोच आयो' उनले भने, 'सङ्कटमा साथ दिनु स्वदेशप्रतिको हाम्रो दायित्व पनि त हो।'

खड्का द्वय र खत्रीको जापानमा ‘नेपलिज ग्लोबल गु्रप जापान’ नाम गरेको कम्पनी छ। सहयोग बुझेपछि अस्पतालका अध्यक्ष राना मगरले उक्त रकमको सही सदुपयोग गरिने प्रतिवद्धता जनाए।

'हामी टिममा पनि छलफल गर्छौँ, अक्सिजन सिलिण्डर या अरु कुनै अत्यावश्यकीय सामग्री व्यवस्थापनमा खर्च हुन्छ' उनले भने, 'महामारीको कठिन घडीमा प्रवासी युवाले गरेको सहयोग हाम्रा लागि अमूल्य छ।' कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सिङ्गो राज्य संयन्त्र लागे पनि जनस्तरबाटसमेत स्वतःस्फूर्तरूपमा सहयोग जुटिरहेको छ।

यसअघि आइतबार मात्र जापानमा रहेका तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई रु सात लाख ३७ हजार बराबरका चिकित्सा सामग्री उपलब्ध गराएका थिए। महामारीको यो विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। रासस 

प्रकाशित मिति: : 2021-06-08 13:23:00

प्रतिकृया दिनुहोस्