बहिनी एडुकेयर फाउण्डेशनद्वारा राहत वितरण

File photo
File photo

पोखरा महानगरपालिका–२३ मा १०० जनालाई राहत वितरण गरिएको छ। पत्रकार भानु पराजुलीका पहलमा बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो। 

कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउनेको जीवन कष्टकर बन्दै गएपछि उनीहरुका लागि राहत वितरण गएिको फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए। 

उनका अनुसार २५ केजी चामल, पाँच केजी दालसहित मास्क र साबुन गरी उक्त वडाका १०० लाई राहत सामग्री वितरण गरिएको हो। 

राहत वितरण गर्दै उक्त वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले कोरोना महामारीले विपन्न परिवारलाई झनै समस्यामा पारेका जनाउँदै फाउण्डेशनले सहयोगले विपन्न परिवारलाई राहत मिलेको बताए। उनले फाउण्डेशनलाई धन्यवाद दिँदै कठिन वस्थामा हुनेले नहुनेलाई दिएर मानवीय कर्तब्य पूरा गर्न आग्रह गरे।  

सिद्ध बराह माविका अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुलीसहितको सहयोगमा वितरण गरिएको राहतमा छुटेका परिवारको पहिचान गरेर थप राहत वितरण गरिने फाउण्डेशनका निर्देशक परियारले जानकारी दिए। 

यसैबीच उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले अक्सिजन प्लान्टका लागि रु एक लाख दिने घोषणा गरेका छन्। अध्यक्ष पराजुलीले वडाको तर्फबाट संस्थागत निर्णय गराइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टका लागि उक्त रकम दिने घोषणा गरेका हुन्। 

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना र आइसियू बेड थप्नका लागि “रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ” भन्दै बतास फाउण्डेशनका पहलमा अभियान चलेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-08 14:53:00

प्रतिकृया दिनुहोस्