‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

सेतोपाटी

काठमाडाैं

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न खबर बाहिरियो। ओली मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए त्यसैका लागि उनले एमालेका नेताहरूलाई मन्त्री बनाउन लागेका होलान् भन्ने धेरैको आँकलन थियो। किनकी सत्ता साझेदार जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहबाट अघिल्लो साता नै मन्त्री भइसकेका थिए।

महन्थ ठाकुर पक्षका १० जना नेतालाई मन्त्री बनाएका थिए। विघटित प्रतिनिधि सभाका २० जना सांसद आफ्नो पक्षमा भएकै आधारमा ठाकुरको भागमा ८ मन्त्री र २ राज्यमन्त्री परेका थिए।

ओलीले बिहीबार थप्न लागेका मन्त्रीमध्ये उद्योग वार्णिज्य तथा आपुर्ति मन्त्रीमा जसपा नेता राजकिशोर यादवको नाम आएपछि धेरैलाई आश्चर्य लाग्यो।

मन्त्रिपरिषद् बिस्तार हुने क्रममा यादवको नामबाहिर आएलगत्तै प्रधानमन्त्री ओलीनिकटका एक स्थायी कमिटी सदस्यलाई सोध्दा उनले यादवको नाम चर्चामा रहेको बताए।

मन्त्रीको नाममा चर्चामा आएका राजकिशोर यादव जसपाकै हुन् या एमालेका कोही नेता हुन अलि कन्फ्युज भइयो भनेर सोध्दा ती स्थायी कमिटी सदस्यले भने, 'कन्फ्युज हुने होइन। एमाले त एकदम उदार छ। प्रधानमन्त्री केपी ओली पनि साह्रै उदार हुनुभएको छ। प्रधानमन्त्री उदार भएपछि राजिकशोरलाई मन्त्री बनाउनु के हो र!'

यादव मन्त्री बन्ने कुरा ठाकुर पक्षका केही शीर्ष नेताहरूलाई थाहा भएको भए पनि उनीनिकट कार्यकारिणी सदस्यलाई समेत थाहा थिएन। विस्तारित मन्त्रिपरिषदमा यादवको नाम रहेकोबारे जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको एक कार्यकारिणी सदस्यले बताए।

प्रकाशित मिति: : 2021-06-10 19:45:00

प्रतिकृया दिनुहोस्