मुख्यमन्त्री पोखरेल राहत सामग्रीसहित मनाङ जाँदै, ५ करोड रुपैयाँको प्रदेश विपद् कोष खडा 

फाइल तस्वीर
फाइल तस्वीर

बाढीले बितण्डा मच्चाई रहेको गण्डकीको हिमाली जिल्ला मनाङको स्थलगत निरिक्षणका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल जाने भएका छन्। भारी वर्षाका कारण डुबानमा रहेको मनाङमा मुख्यमन्त्रीसहितको टोली जाने भएको हो।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु-याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ जादै छ।

गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहतसामग्रीसहित मुख्यमन्त्री मनाङ जान लागेका हुन्।

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ५ करोड रुपैयाँको विपत् कोष खडा गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

मुख्यमन्त्रीले यसअघि प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन दिइसकेका छन्।

'बैठकमा  मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न  भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनुभयो', उनले भने, 'मुख्यमन्त्री बहाली भएकै दिनमा भएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि उहाँले निर्देशन गर्नुभएको छ।'

प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०, १० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २, २ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ। प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको प्रवक्ता खड्काले जानकरी दिए।

प्रकाशित मिति: : 2021-06-17 13:28:00

प्रतिकृया दिनुहोस्