निर्वाचन आयोगमा टोपबहादुर र प्रभु : न एमाले, न माओवादी !

‘हामी कुन पार्टीमा छौं ?’ भन्दै निर्वाचन आयोगमा सोधखोज

रातोपाटी

काठमाडाैं

माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका टोपबहादुर रायमाझी र प्रभु शाह शुक्रबार दिउँसो अकस्मात् निर्वाचन आयोगमा पुगे । आयोगले आफूलाई  माओवादीकै रुपमा चिन्छ कि एमालेका रुपमा चिन्छ भनेर बुझ्न उनीहरु त्यहाँ पुगेका हुन् ।

हामीलाई माओवादीले केन्द्रीय समितिबाट के आरोपमा हटाएको रहेछ भन्दै रायमाझी र साहले आयोगका पदाधिकारीसँग सोधखोज गरेका थिए । साथै, उनीहरुले आफ्नो नाम एमालेको केन्द्रीय कमिटीमा दर्ता छ कि छैन भन्नेसमेत बुझेका थिए ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीसमेत माओवादीबाट निर्वाचित चारजना प्रतिनिधि सभाका सदस्यहरु गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेतिर लागेका थिए । फागुन २८ गते उनीहरुलाई नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । उसैदिन केन्द्रीय कमिटी भंग भई दशौं महाधिवेशन आयोजक कमिटी बनेको थियो ।

प्रकाशित मिति: : 2021-06-19 08:43:00

प्रतिकृया दिनुहोस्