कृषि पकेट क्षेत्र निर्धारणलाई प्राथमिकता

सिरीजंघा गाउँपालिकाले कृषिजन्य उत्पादनलाई जोड दिन ‘पकेट क्षेत्र निर्धारण’लाई प्राथमिकता दिएको छ। 

सो कार्यक्रम  अन्तर्गत  वडा नं ३ र ६ मा बाख्रा पालन, वडा नं २ र ५ मा  किबि , वडा नं ७ र ८ मा चौँरी , वडा नम्बर १ र ४ मा मकैको पकेट क्षेत्रका रुपमा अघि बढाउने गाउँपालिकाले जनाएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजनालाई अघि सारिइएको हो। यस्तै चालुआवबाटै शुरुआत भएको ‘सिरीजंघाको सान, उद्यमशील किसान’ भन्ने कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ। 

कार्यक्रम अन्तर्गत अब यहाँका किसानले माटो र भुगोल सुहाउँदो खेतीका लागि निः शुल्क माटो परीक्षण गर्न पाउनेछन्। यसका लागि गाउँपालिकाले यहाँ स्थित सिनाम माध्यामिक विद्यालयमा रहेको माटो प्रयोगशाला मार्फत निशुल्क परीक्षणको व्यवस्था मिलाउने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै गाउँपालिका क्षेत्र भित्रका ७२  टोलमा किसानको मागमा आधारित कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने समेत व्यवस्था मिलाइने जनाइएको छ। पोषणजन्य हिउँदे र वर्खे तरकारी उत्पादनमा कृषकलाई आकर्षित गर्न बीउ बिजन खरिद गरी सम्बन्धित क्षेत्रका टोल विकास संस्था मार्फत वितरण गरिने छ।  

तरकारी खेतीका लागि पालिका अन्र्तगतका आठ वटै वडाका गरी ५५० कृषकसंगको लागत साझेदारीमा टनेल खरिद गरी वितरण गर्ने व्यवस्था गाउँपालिकाले गर्ने छ। 

यसैबीच कृषिजन्य उपजको भण्डारणका लागि वडा नं २ र ५ मा स–साना शीतभण्डार निर्माण अघि बढाउने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए। 

'माटो र भुगोल सुहाउँदो खेतीपातिमा कृषकलाई अघि बढाउँदै आयआर्जनमा वृद्धि गर्न र कृषि उपजमा गाउँपालिकालाई नै आत्मनिर्भर बनाउँन केही नयाँ कार्यक्रम सहित सिरीजंघाको सान, उद्यमशील किसान कार्यक्रमलाई निरन्तरता दिने भएका छौँ' उनले भने। 

उक्त योजनाले  किसानको आयआर्जनमा सघाउ पुग्नुका साथै गाउँपालिकालाई समेत फाइदा पुग्ने जनाइएको छ। गाउँपालिकाले गत विहीबार आगामी आवका लागि ४३ बुँदे नीति तथा कार्यक्रम सहित रु ५० करोड ५७ लाखको बजेट ल्याएको थियो। रासस 

प्रकाशित मिति: : 2021-06-19 18:46:00

प्रतिकृया दिनुहोस्