वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ठोरी गाउँपालिका–४ गोपीबस्तीनजीकै शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना युवक घाइते भएका छन्।
हिजो साँझ ७ बजे पानी परिरहेको समयमा मालीबस्तीबाट विजयबस्तीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट गोपीबस्तीतर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किंदा ठोरी गापा–४ विजयबस्तीका करण महतो र गोपीबस्तीका हर्क लामा गम्भीर घाइते भएका थिए। घाइतेमध्ये महतोको उपचारको क्रममा आइतबार मृत्यु भएको विजयबस्ती प्रहरी चौकीले जनाएको छ।
ना.७प ८८९३ र ना.४५प ८१६० नम्बरको मोटरसाइकल नेवा पेट्रोल पम्पदेखि करीब २ सय मिटर पूर्व हुलाकी सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा ना.७प ८८९३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षीय महतोको घुँडा र छातीमा गम्भीर चोट लागेको थियो भने अर्का मोटरसाइकल चालक ३१ वर्षीय लामाको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते दुवै जनालाई उपचारका लागि वीरगंज पठाइएकोमा उपचारको क्रममा महतोको मृत्यु भएको हो। हुलाकी सडक निर्माण भएयता वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने मालीबस्तीदेखि विजयबस्ती सडकखण्डमा सवारी दुर्घटना हुने क्रम बढ्न थालेको छ।
गत चैत २८ गते पनि गोपीबस्तीका चारजना युवालाई सोही सडकखण्डमा मोटरसाइकलले ठक्कर दिंदा दुई जना युवाको मृत्यु भएको थियो। सडक सुधार भएसँगै यो क्षेत्रमा सवारीसाधन अत्यधिक तीव्र गतिमा हाँक्ने गरिएको कारण बेलाबखत दुर्घटना भइरहन्छ।