ओली भ्याकेटमा गएपछि खनाल-नेपाल पक्ष सशंकित

ओलीले पार्टी एकता गर्न नचाहेको आरोप

सेतोपाटी

काठमाडाैं

कर्णाली प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओली पक्ष भ्याकेटमा गएसँगै एमालेमा बन्नै लागेको सहमति संकटमा परेको छ।

ओली पक्ष भ्याकेटमा गएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यसलाई पार्टी एकता नगर्ने षड्यन्त्र भनेको छ।

जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।

पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई वैशाख ३ गते फ्लोर क्रस गरेर भोट दिएको आरोपमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई बर्खास्त गरेको थियो।

महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अदालतमा उजुरी दिएका थिए। सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गर्दै उनीहरूको पुनर्बहाली हुने अन्तरिम आदेश दिएको थियो।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि महाधिवेशन आयोजक कमिटीलाई अवैध भन्दै आएको थियो। सर्वोच्चको आदेशपछि खनाल-नेपाल पक्ष २०७५ जेठ २ मा पार्टी फर्किने भनेर उत्साही बनेका थिए।

 

 

 

प्रकाशित मिति: : 2021-06-21 14:11:00

प्रतिकृया दिनुहोस्