दीपा नेपालीलाई आमाले भनिन्- बरू मर्न तयार हुनू, तर नझुक्नू!

सेतोपाटी

काठमाडौँ

 

युनिक श्रेष्ठ र शोभा शर्मा

दीपा नेपालीलाई थरकै कारण डेराबाट निकालिएको विवाद गृह मन्त्रालय पुगिसकेको थियो। उनी आफूमाथि भएको जातीय विभेदको विवरण सुनाउन मन्त्रालयमा हाजिर भएकी थिइन्।

२०७६ फागुन २६ गते मन्त्रालयमा आफ्ना कुरा सुनाएर निस्किँदै गर्दा दीपालाई कैलालीबाट आमा पार्वतीको फोन आयो।

उनले डेरामा भएको ज्यादतीबारे आमाबालाई केही बताएकी थिइनन्। आमाले आफैं समाचार सुनेर फोन गरेकी थिइन्।

फोनमा आमाले भनिन्, 'समाचार पढेँ, तिमीहरूलाई त त्यस्तो भएको रैछ है?'

'हो,' दीपाले भनिन्, 'हामीलाई भेदभाव गर्नेलाई कारबाही हुनुपर्छ भन्न म अहिले गृह मन्त्रालय आएकी छु।'

आमाले सम्झाइन्, 'तिमीहरूलाई थाहा छ नि, हामी यही जातीय भेदभावविरूद्ध लड्दा घर छाडेर तराई झर्नुपरेको हो। आफ्नो पुर्ख्यौली घरबाट विस्थापित हुनुपरेको हो। हामीले जस्तो नियति भोग्नु नपरोस् भनेर नै तिमीहरूलाई पढायौं, लेखायौं, केही बन्न काठमाडौं पठायौं। त्यहाँ पनि तिमीहरूमाथि त्यस्तो भयो?'

दीपाले आमाको कुरा चुपचाप सुनिरहिन्।

आमाले अगाडि भनिन्, 'तिमी हाम्री छोरी हौ, लड्नुपर्छ भन्ने थाहा छ नि। कसैगरी पछि नहट्नू है।'

प्रकाशित मिति: : 2021-06-23 21:54:00

प्रतिकृया दिनुहोस्