टिप्पणी : सामान्य धोइपखालीले मात्र काम चल्ला र !

अनलाइनखबर

काठमाडाैं

‘अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं । ल भन्नुस् आजै, ह्याऽऽ तिमीहरूले सकेनौं हामी गर्छौं भन्नुहुन्छ भने पनि ठिकै छ । …

‘… नेताहरूको अलि बढी नै हुर्मत लिने गरियो र सबै नेता उस्तै-उस्तै हुन् भन्ने मानसिकता देशभरि बन्न गयो भने निकै ठूलो ‘पोलिटिकल भ्याकुम’ र ‘फ्रस्टेसन’ जनतामा आउन सक्छ र त्यसले लोकतन्त्र मात्र होइन, देशकै भाग्य र भविष्यलाई अप्ठेरो पार्न सक्छ । यो पक्ष पनि तपाईंहरूले पक्कै विचार गर्नुभएको छ र त हामीलाई गाली गर्दागर्दै पनि समर्थन गरेको होला भन्ठान्छु । …

… अर्को ल्याउँ भने अहिले भर्खरै जन्मिँदैनन् । उमारौं न त नेता भनेर उम्रिने कुरा होइन । आकाशबाट झारौं भनेर पनि झरिहाल्दैन । जस्ता भए पनि हामी नै हो अहिले, के गर्नुहुन्छ ? अब यसैलाई धोइपखाली गर्नुपर्‍यो अब राष्ट्रको निम्ति । अरु त के उपाय छ र ?’

यो भनाइ हो विपक्षी गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्ने क्रममा उनले प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धनका नेताहरू उस्तै उस्तै नभएको जिकिर गरे ।

अन्तर्क्रियाको क्रममा सम्पादकहरूले ‘श्वेतपत्र’को प्रसंग निकाले । प्रचण्डले आफूहरूबाट गल्ती भएको स्वीकारे पनि  ‘श्वेतपत्र जारी गरेर’ अगाडि बढ्छौं भन्न सकेनन् । उनले भने, ‘तर पनि हामी मुख्य होइन । मुख्य उनै केपी ओली हुन् । यो प्रवृत्तिलाई हामीले परास्त गर्नैपर्छ ।’ तर उनले सच्चिने स्पष्ट मार्गचित्र (भिजन) प्रस्तुत गर्न सकेनन्,  केवल धोइपखालीको कुरा मात्रै गरे ।

प्रकाशित मिति: : 2021-06-29 15:03:00

प्रतिकृया दिनुहोस्