यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौँबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको बिशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
काठमाडौँ बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिम बहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिप नारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
यस्तै काठमाडौँबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुरसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाईली पक्राउ परेका छन्। रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए।
यसैगरी चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा पश्चातको यो अबधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणा बढीसम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरू कारवाहीमा
बिशेषगरी काठमाडौँ उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ। त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ।
“भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियोलगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एवम् कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए।
उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको समेत बताउए।