ओली–प्रचण्ड : त्यो प्रेम, यो घृणा

अनलाइनखबर

सुदर्शन खतिवडा

चाणक्य नीतिमा भनिएको छ- ज्ञानबाट शब्द बुझिन्छ तर अर्थ बुझ्न अनुभव चाहिन्छ। राजनीतिक दल र नेताहरुको सम्बन्धको पहेली पत्ता लगाउन कहिलेकाहीँ अनुभव पनि काफी नहुने रहेछ।

कम्युनिष्ट ‘स्कुलिङ’बाट प्रशिक्षित ‘कमरेड’हरुको सम्बन्धको पहेली झन् रहस्यमय बन्ने गरेको छ। आरोह-अवरोहले भरिपूर्ण कम्युनिष्ट आन्दोलनजस्तै नेताहरुको सम्बन्ध पनि नागबेली र उतारचढावपूर्ण रहने गरेको छ।

करोडौं नेपालीको समृद्धिको सपना र लाखौं कार्यकर्ताहरुको नासो बोकेर उडान भरेको जेट विमानका चालकद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धलाई के ले बिथोल्यो ? व्यक्तिगत स्वार्थ र महत्वांक्षाले अन्य केही कारणले ?  ओली र प्रचण्ड अहिले सामान्य राजनीतिक शिष्टाचार पनि छाडेर आरोप–प्रत्यारोपको रणमैदानमा उत्रिरहेका छन्।

यो उनीहरुको व्यक्तिगत कमजोरी हो कि उनीहरुले विकास गरेको पार्टी सञ्चालन प्रणालीको दोष हो ? कम्युनिष्ट पार्टीमा एकता र संघर्षलाई आलोचनात्मक ढंगले हेर्न र बुझ्न सिकाइयो कि सिकाइएन ?

दुई नेता मिल्छन् सबै ठिक अनि यी झगडा गर्छन् सबै बेठीक ! त्यसपछि आ–आफ्ना पक्षका नेताको बचाउमा तथानाम गालीगलौज। यहाँ व्यक्ति ठिक हुनुपर्ने कि प्रणाली ? नेता कार्यकर्ताहरु रोबोर्टजस्ता आदेशपालक हुनुपर्ने कि आफ्नै मष्तिष्कको प्रयोग गर्ने अनुशासित मान्छे ? यी सोचनीय प्रश्नमा छलफल बहस हुनु जरुरी भएको छ।

ओली प्रचण्डकै सहयोगमा दुई दुईपटक प्रधानमन्त्रीको कुर्सीमा पुगे। तर उनी यतिबेला प्रचण्डलाई चर्को घृणा गरिरहेका छन्। एमाले र माओवादीमा रहँदा नेताद्वयले एकअर्कालाई भित्तैमा पुग्नेगरी गाली गर्थे। उनीहरुले प्रयोग गर्ने भाषा शैलीमा सामान्य राजनीतिक शिष्टाचार पनि हुँदैनथ्यो।

प्रकाशित मिति: : 2021-07-02 09:39:00

प्रतिकृया दिनुहोस्