गए रातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन्।
तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ।
बेलका–२ तपेश्वरीका राजकुमार भुजेलका अनुसार गए रातिदेखि आएको निरन्तर बाढीको कारण स्थानीय खोलामा आएको बाढी गाउँघरमा प्रबेश गरेको कारण सडक,खेत जग्गा र गाउँघर बिस्तारै डुबान हुन थालेको हो।
गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरे खोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछी तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए।
इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाका अनुसार बेलकाको आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान शुरु गरेको पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय बेलका रामपुरका अनुसार आफूले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए।
वर्षाका कारण बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल शुरु गरिएको इप्रका बेलकाले बताएको छ।
त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताए।
बेलकास्थित तपेश्वरी क्षेत्रमा बाढीले डुबान पर्न थालेपछि अहिले सो स्थानमा कुनै पनि मानवीय घटना घट्न नदिन प्रशासनले सुरक्षाकर्मी सो स्थानमा तयारी हालतमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए।
बगाएर ६५ वर्षीय वृद्धको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा बेल्टार मदनचोकका गुमशेर राई रहेको प्रहरीले बताएको छ।
बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो भने घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। रासस