पहिराले सात घर जोखिममा

File photo
File photo

कृष्ण न्यौपाने
केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा एकघर क्षति भएको छ भने अन्य सात घर जोखिममा परेका छन्। पहिरोले उक्त टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ। 

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ। सोही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उनले बताए। 

पहिरोले उक्त वडाका डहरे, मालेबगर, चनौटे, लालिम लगायतका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। बाढीपहिरोले १२ वटा बाँध र कुलो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खानेपानीका पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ। 

यसैगरी भानु नगरपालिका–१० याङसिङमा पहिरोले एक घर पुरिएको छ। केही दिनदेखि परेको निरन्तर वर्षाका कारण उक्त ठाउँका प्रेमबहादुर भुजेलको घर पुरिएको हो। 

घरमाथिबाट आएको पहिरोले घर र गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरोबाट घरमा रहेका लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ भने गोठमा रहेको एकहल गोरु र गाई पुरिएको छ। पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।  

पहिरोले विद्युत पोल क्षति 

केही दिनदेखि परेको निरन्तर वर्षाका कारण विद्युत पोलमा क्षति पुग्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ। 

लगातारको वर्षाले पोल क्षति हुँदा जिल्लाका करिब आठ हजार घरधुरीमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ। 

हालसम्म व्यास र भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए। 

उनका अनुसार २८  विजुलीको पोल पहिरोले क्षति पुगेको छ। व्यास –१० बोटेगाउँमा एक, व्यास–१२ देउराली, छिर्कने र जौबारीमा आठ, व्यास–१३ छाब्दीमा चार, भानु –१ साझबोटेमा पाँच, भानु –३ तुरतुरेमा तीन पोलमा क्षति पुगेको छ।

त्यस्तै भानु –६ बरभञ्ज्याङमा दुई, बन्दीपुर–२ भैसेखारमा चार, भानु–१३ पोखरीछापमा एक पोलमा क्षति पुगेको छ। 'पहिरोले क्षति भएको पोलहरुको मर्मत कार्य भइरहेको छ' उनले भने, 'पूर्ण रुपमा सञ्चालन हुन अझै तीन/चार दिन लाग्नेछ।' 

विद्युत पोलमा क्षति पुगेर विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको बन्दीपुरका स्थानीयवासी बसन्त पौडेलले जानकारी दिए।  बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले विद्युत अवरुद्ध हुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-07-03 19:30:00

प्रतिकृया दिनुहोस्