पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

Symbolic photo
Symbolic photo

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो। भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए।

बिहान करिब ८ बजेतिर घरबाट निस्केका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए।

'उहाँ मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ। झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन', शिक्षक गौतमले भने, 'छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ। घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ।'

कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनी कता भएको भन्ने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए। रासस

प्रकाशित मिति: : 2021-07-04 10:27:00

प्रतिकृया दिनुहोस्