संक्रमण दर जोखिमकै विन्दुमा छ, बढिसक्यो भीडभाड!

हिमाल खबर

काठमाडौँ

१६ वैशाखदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ। यसको सिको गर्दै उपत्यका बाहिरका अधिकांश जिल्लामा पनि सोही अनुसार निर्णय हुँदै आएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थलमा भीडभाड बढेको छ। सडकमा नाराजुलुस र प्रदर्शन पनि हुन थालेका छन्। राजनीतिक दलका त झन् ठूला भेला र सभा भइरहेका छन्। १८–१९ असारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्यो। विपक्षी दलहरूले पनि सरकारविरुद्धको कार्यक्रमको नाममा भीड गरिरहेका छन्। जब कि, अझै पनि कोरोनाभाइरसको संक्रमण जोखिम घटेको छैन।

संक्रमण जोखिमकै कारण काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार मात्रै २२ असारबाट निषेधाज्ञा एक साता थप्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम गर्न नपाइने निर्णय गरेका छन्। 

सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली २२ असारदेखि हटाइँदै छ। अब साना सार्वजनिक सवारी पनि चलाउन पाइने भएको छ। १७ असारदेखि आन्तरिक उडान खुलिसकेको छ। यस्तै, बारका आधारमा खोल्ने व्यवस्था गरिएका सबै पसल–व्यवसायहरू यसअघि नै दैनिक साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइसकिएको छ। यसले जनजीवन सामान्य हुन थालेको आभास दिन्छ। तर, कोरोना संक्रमितको तथ्यांकले भने उच्च जोखिमको अवस्था कम नभएको जनाउ दिन्छ। 

अहिले कोरोनाको सरदर संक्रमण दर २० प्रतिशतको हाराहारीमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, २० असारमा परीक्षण गरेकामध्ये १९.७१ प्रतिशतमा संक्रमण देखिएको छ। १९ असारमा २२.९७, १८ असारको २१.६९, १७ असारको २५.१२ र १६ असारको संक्रमण दर २५ प्रतिशत छ। जब कि विभिन्न अध्ययन र संक्रामक रोग विज्ञहरूले ५ प्रतिशतभन्दा माथिको संक्रमण दर हुनुलाई उच्च जोखिमका रूपमा व्याख्या गर्दै आएका छन्।
 

प्रकाशित मिति: : 2021-07-05 17:41:00

प्रतिकृया दिनुहोस्