किन आइरहेको छैन नेपालमा पर्याप्त खोप?

हिमाल खबर

काठमाडौँ

रमेश कुमार

गत साता दक्षिण एशियाली देशहरू बाङ्लादेश र पाकिस्तानले अमेरिकाबाट पाउने कोरोनाभाइरस (कोभिड-१९)विरुद्धको खोप अनुदानमध्ये पहिलो चरणमा २५/२५ लाख डोज प्राप्त गरे। दुवै देशले कोभ्याक्स सुुविधा मार्फत मोडर्ना खोप पाएको जनाइएको छ। श्रीलंकाले पनि अमेरिकाले दिने तय गरेको फाइजर खोपको आठ लाखमध्ये पहिलो चरणको २६ हजार डोज सोमबार पाएको छ। श्रीलंकाले जापानबाट पनि खोप लिन पहल गरेकाे छ। यूरोपेली देश डेनमार्कले गत साता नै भुटानलाई सीधै २ लाख ५० हजार डोज अस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ।

कोभिड–१९ सँग जुध्न दक्षिण एसियाका देशहरूले पश्चिमा मुलुकहरूबाट धमाधम खोप पाइरहेका वेला नेपाल पनि खोपका लागि आशावादी नजरले पश्चिमतिर हेरिरहेको छ। नेपालले खोपका लागि डेनमार्कसँग अनुरोध गरे पनि डेनमार्कले भुटानलाई जसरी सीधै नेपाललाई खोप दिने निर्णय गरेकाे छैन। अमेरिकाले नेपालसहितका देशलाई कोभ्याक्स सुविधा मार्फत खोप दिने भनी घोषणा गरेको त छ, तर खोपको परिमाण र आउने समय अझै निर्क्योल भइसकेको छैन। यद्यपि, अंग्रेजी दैनिक द काठमान्डु पोस्टले मंगलबार स्वास्थ्य मन्त्रालय स्रोतलाई उल्लेख गर्दै आगामी सातासम्ममा अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आउन लागेको समाचार प्रकाशन गरेको छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि अमेरिकाले कोभ्याक्स मार्फत सहयोग गर्न लागेको खोप आगामी साता आइपुग्ने लगभग तय भएको पुष्टि गरे। यद्यपि, स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपका विषयमा आधिकारिक जानकारी नआइपुगेको बताउँछन्। नेपालले खोप आउने आशा गरिरहे पनि कहिले र कति परिमाणमा आउँछ भन्ने टुंगो नलागेको उनले बताए। 
 

प्रकाशित मिति: : 2021-07-07 18:11:00

प्रतिकृया दिनुहोस्