जथाभावी क्रियाशील बाढेर पार्टी कब्जा गर्न लागेकाे आराेप

वडाले सिफारिस गरेको भन्दा बढी सङ्ख्यामा क्रियाशील सदस्यको नाम प्रस्ताव भएपछि मोरङ क्षेत्र नं.३ मा खैलाबैला सुरु भएको छ । 

कांग्रेसमा वडा, गाउँ/नगर, क्षेत्रीय र जिल्ला समितिले नाम सिफारिस गरेपछि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य प्राप्त गर्ने व्यवस्था  छ। सोही व्यवस्था अनुसार वडाले नयाँ सदस्यको नाम सिफारिस गरेको थियो। 

क्षेत्र नं.३ अन्तर्गतका अधिकांश वडामा सिफारिस भए भन्दा बढी नाम प्रस्ताव भएपछि जिल्ला तहमा नेतृत्व गर्ने मोरङ –३ का नेताहरू नै अलमलमा परेका छन्।

सुन्दरहरैचा ११ का वडा सभापति माधवप्रसाद लुइटेल वडा समितिले सिफारिस गरेको भन्दा ७३ जना बढीको नाम प्रस्ताव भएर आएपछि छक्क परेका छन्। 

लुइटेलका अनुसार ६८ जनाको नाम वडा समितिले सिफारिस गरेको थियो। अहिले १४१ जनाको नाम आयो। प्रस्तावित नाम स्वयं वडा सभापतिले पहिचान गर्न नसक्ने छन्। 

वडा नं.११ सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख एवं मोरङ कांग्रेसका सहसचिव शिवप्रसाद ढकाल मतदाता रहेको वडा हो। ढकालले  सोही वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर माथिल्लो पदमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

सहसचिव ढकाललाई वडाबाट माथि जान नदिन क्षेत्रीय सभापति गणेश खड्काले जस्केलाबाट क्रियाशील सदस्यता बाढेको राजनीति बुझेका कांग्रेस जनहरु बताउँछन्। 

गैर कांग्रेसलाई सदस्यता दिएर पार्टीको जिम्मेवार कार्यकर्तालाई हराउने षडयन्त्र भएको उनीहरुको भनाइ छ। पार्टीको विधानअनुसार आएका क्रियाशील सदस्यका फारमहरु स्वयं शिवप्रसाद ढकालको उपस्थितिमा भरेर क्षेत्रीय समितिमा पठाइएको थियो। तर, गणेश खड्का लगायतका केही नेताले आफ्नो अधिकार दुरुपयोग गरी जथाभावि क्रियाशील सदस्यता दिएको बुझिएको छ।

समाचार स्रोतका अनुसार क्षेत्रीय सभापति गणेश खड्काले, महासमिति सदस्य बसन्त भट्टराई, जिल्ला सदस्य मानबहादुर लिम्बू, महासमिति सदस्य नगेन्द्र जमरकट्टेललगायतका नेताहरुको समर्थन लिएर सुन्दरहरैचा–१० को एउटा घरमा किर्ते क्रियाशील फारम भरेर काठमाडाैं पठाइएको हो। 

उक्त घरमा ३ महिनायता बिहानदेखि साँझसम्म मासु, मदिरा, खाजा र खानाको समेत प्रबन्ध हुने गरेको छ। समाचार स्रोत भन्छ–घरको भाडा लगायत सम्पूर्ण खर्च कांंग्रेस नेता सुनील शर्माले व्यहोर्ने गरेका छन्। 

आफू छाँयामा बसेर डाक्टर शर्माले प्रत्यक्ष रुपमा पार्टी कब्जा गर्ने रणनीति लिएको पुराना कांग्रेसहरूको दाबी छ। एक कांग्रेस नेताले भने, 'पार्टी एउटा क्लब जस्तै भइसक्यो। पैसा भएपछि सबैथोक हुन्छ भन्ने सोचले पार्टी बिग्रीसक्यो।

सुन्दरहैंचाको १२ नं. वडामा पनि सिफारिस भएको भन्दा १२ जना बढीको नाम आएको छ भने उता पथरीशनिश्चरे नगरपालिकामा पनि सिफारिस भन्दा ३१२ जना बढीको नाम आएको छ। 

पार्टीमा शेरबहादुर देउवाको निकट मानिने क्षेत्रीय सभापति खड्का २०७४ को संघीय निर्वाचनपछि डाक्टर शर्माको किचन क्याविनेटका सदस्य बनेका छन्।

शर्माले लिएको सुन्दरहरैंचाकाे भाडाकाे घरमा बस्ने नेताले खाने दालभातकाे व्यवस्थापनसमेत खड्काको नेतृत्वमा हुने गरेको छ। महामन्त्री पूर्णबहादुर खड्कासँग आफू देउवा पक्षमामै रहेको बताउँदै आएका खड्का पछिल्लो समय डाक्टर शर्माको आडमा ठूलाठूला हर्कत गर्न थालेका छन्। 

केही दिन अघि काठमाडौंको एउटा बैठकमा फोनबाटै  खड्काले पथरीशनिश्चरे नगरका सभापति टेकबहादुर थापालाई तथानाम गाली गरें। शेखरचन्द्र थापाको निगाहाबाट क्षेत्रीय सभापतिमा विजयी भएका खड्काले सोही बैठकमा थापालाई समेत औंला ठड्याए। 

४ वर्ष अघि पथरीस्थित पार्टीको क्षेत्रीय कार्यालयमा बसन्त भट्टराईमाथि कुर्सीको झट्टी हानेका खड्का अहिले भट्टराईसँगै नजिकिएका छन्।

राजनीतिक अडान राख्न नसक्ने दोचारे नेताका रुपमा परिचय बनाउँदै गएका खड्का अहिले निष्टावान भन्दा मिष्ठावान बन्दै गएका छन्। पुन क्षेत्रीय सभापति पदमा दाबी गरिरहेका खड्का चुनावमा पार्टीले खर्च गर्न दिएको पैसासमेत लगानी गर्न माहिर मानिन्छन्। 

गत स्थानीय निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकाकाे मेयर पदमा नेकपा एमालेका उम्मेद्वारसँग १८ सय ६३ मतले पराजित भएका खड्का क्षेत्रीय सभापति भएर पुन नगर प्रमुखको उम्मेद्वार बन्ने दाउमा छन्। 

यसैबीच सुन्दरहैंचा ११ को वडा समितिले पार्टी केन्द्रीय कार्यालयमा वडा समितिले गरेको सिफारिस भन्दा बाहेकका नामलाई क्रियाशील सदस्य नबनाउन उजुरी गरेको छ। 

सुरुमा सिफारिस गरेको निर्णयको छाँयाप्रति राखेर ११ नं. वडाले उजुरी दर्ता गरेको हो। तर,  वडा नं. १० मा रहेको टिमले भने मोरङ कांग्रेसका सह सचिव नै क्रियाशील रोक्न लागि परेको हल्ला चलाएको छ। 

सहसचिव ढकालले भने, 'पार्टीलाई विधि र नीति अनुसार चलाउनु पर्छ। थप भएका साथीहरूको नाम किन वडाबाट सिफारिस भएन? ढोका हुँदा हुँदै जस्केलाबाट सदस्यता दिने परिपाटीको मात्रै विरोध हो। शिव ढकाललाई हराउन सकिन्छ कि भनेर सबै शक्ति यो वेला सुन्दरहरैंचामा लगाइएको छ। जसले गर्दा उनीहरुलाई नै उल्टो भई रहेको छ। अर्कालाइ खनेको खाल्डोमा षडयन्त्र गर्नेहरुनै पर्छन ।त्यो निष्चित छ।' 

प्रकाशित मिति: : 2021-07-09 21:34:00

प्रतिकृया दिनुहोस्