ढुङ्गा फुटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी

File photo
File photo

शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गाको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आज साँझ ५ः४० मा सफा गरिएको हो।  

ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

'अब राजमार्गमा कुनै अवरोध छैन', प्रनाउ तिमिल्सिनाले भने। यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौँ सवारीसाधन बेलाबेलामा रोकिन पुगेका थिए। 

डाइभर्सनबाट यातायात सञ्चालन

तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखालामा डाइभर्सन निर्माण गरिएपछि सवारी वारपार शुरु भएको छ। पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट यातायात सञ्चालनमा आएको हो। 

व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत आज सवारी साधन सञ्चालन भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिए।

'तत्कालका लागि अस्थायी रुपमा भने पनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ' उनले भने। बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए। 

प्रकाशित मिति: : 2021-07-11 22:33:00

प्रतिकृया दिनुहोस्