विद्यालयमा आफन्तको नियुक्ति, बदर गर्न स्थानीयको माग

विजय साह

जनकपुर

धनुषाको बटेश्वर गाउँपालिकामा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा हालसालै गरेको शिक्षक तथा कर्मचारीको नियुक्ति बदर गर्नुपर्ने माग बढ्न थालेको छ।

प्रक्रिया पुरा नगरी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफन्त र नातेदारहरुलाई मात्र शिक्षक तथा विभिन्न पदमा नियुक्ति गरेपछि स्थानीबासीले नियुक्ति बदर हुनुपर्ने माग गर्न थालेका हुन्। विद्यालयमा हालसालै शिक्षक र विभिन्न पदमा गरी ९ जनालाई नियुक्ति गरेको छ।

देशमा दोस्रो चरणको कोरोना भेरियन्टका कारण निषेधाज्ञाको समयमा विद्यालय बन्द रहेको अवस्थामा प्रक्रिया पुरा नगरी आफन्तहरुलाई मात्र शिक्षक तथा कर्मचारी पदमा भर्ना गरेको स्थानीयबासी राजकिशोर महतोले बताए।

उनले विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद साहलगायत समितिका सदस्य र कार्यरत शिक्षकले आफन्तहरुलाई अवैधानिक तरिकाबाट शिक्षक र कर्मचारी पदमा नियुक्ति गरेको आरोप लगाए।

विद्यालयका प्रधानाध्यापक केवटले आफ्ना छोरा केतन आनन्द केवटलाई कम्प्युटर प्रशिक्षक र भान्जा प्रेम प्रकाश कापरलाई सहायक लेखापालपदमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहले आफ्ना छोरी प्रियंका कुमारी साहलाई सहायक लाइब्रेरीमा नियुक्ति गरेको बताए। उनले अन्य पदमा पनि समितिकासदस्य र शिक्षकहरुकै आफन्त भएको बताए।

कहिले र कुन प्रकृयाद्वारा शिक्षक र कर्मचारीहरु नियुक्ति गरिएको बारेमो मंगलबार प्रतिलिपि उपलब्ध गराइदिन भनी स्थानीयबासी महतोले लिखित निवेदन पेश गरेपछि प्रधानाध्यापक केवटले ‘शिक्षक छनौट समितिसँग सम्बन्धित प्रकृयाहरु अति गोप्य रहने भएको हुनाले माग गरे बमोजिमको प्रतिलिपिहरु दिन नमिल्ने लिखित जवाफ फर्काएका पन्छिएका छन्।’

बटेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख रामलाल महतोले शिक्षा शाखासँगको समन्वय र पूर्व अनुमति नलिई गरिएको नियुक्ति वैधानिक नहुने बताए।

कुनै पनि सामुदायिक विद्यालयले शिक्षक वा कर्मचारी नियुक्ति गर्नुपर्दा सम्बन्धीत पालिका अन्तर्गत रहेको शिक्षा शाखाबाट पूर्व स्वीकृति लिएर मात्र नियुक्ति गर्नुपर्ने प्रावधान छ।

शिक्षा शाखाबाट पूर्व स्वीकृति नलिई विद्यालय प्रशासनले गरेको नियुक्ति वैधानिक नहुने कानुनी व्यवस्था रहेको शिक्षा शाखा प्रमुख महतोले जानकारी दिए। अगाडि उनले भने बटेश्वर गाउँपालिकामा कहिले कुन विद्यालयमा, कुन प्रकृयाबाट नियुक्ति गरेको हो यस बारेमा केही जानकारी छैन।

प्रकाशित मिति: : 2021-07-14 13:19:00

प्रतिकृया दिनुहोस्