नमूना युवा संसद्ः सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन्।

नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

संसद्मा नमूना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै  कूटनीतिक तरिकाले समाधान गर्न माग गरिन्। अर्का नमूना सांसद चेतन भट्टराईले भारतसँग गरिएका असामान सन्धि खारेज गर्न माग गरे।

नमूना सांसदले उठाएका प्रश्नका जवाफमा नमूना प्रधानमन्त्री स्मृति बरालले सीमा अतिक्रमण र असमान सन्धिका विषयमा सरकारले कूटनीतिक प्रयासमार्फत समाधान गर्ने आश्वासन दिइन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा गत वर्ष मात्र सरकारले सार्वजनिक गरेको र अब अतिक्रमण भएका क्षेत्रमा गई सीमा समस्या समाधान गरिने बताइन्।

नमूना गृहमन्त्री सुरेन्द्र गिरीले नेपालले आफ्नो एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने नमूना संसद्मा जानकारी गराए। यस्तै आज शून्य र विशेष समयमा उनीहरुले युवा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरेका हुन्।

प्रकाशित मिति: : 2021-07-14 15:54:00

प्रतिकृया दिनुहोस्