सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण

Symbolic photo
Symbolic photo

बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ।

महामारीविरुद्धको अभियानमा सुत्केरीको स्वास्थ्य सुरक्षामा समेत विशेष चासो राखेर उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो। 

सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको स्वास्थ्यमा हेरचाह पुर्याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। 

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ।

उपमहानगरपालिकाले नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मी लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवं पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री वितरण गर्दै आएका छन्।

नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाको जानकारी, ल्याबसहितको निःशुल्क स्वास्थ्य जाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताए।

वडा नं ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा उपप्रमुख आचार्यले ६० सुत्केरीलाई पोषण सामग्री प्रदान गरेर कार्यक्रमको शुरुआत गरिएको थियो। नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करीब २३० सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ।

उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश गिरीलगायतले स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसँगै पुगेका थिए। 

उपमहानगरपालिकाले यसअघि लकडाउनको अवधिमा पनि आर्थिकरुपमा विपन्न तथा श्रमिक परिवारका ८१ गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो।

गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको छ।

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए। 

प्रकाशित मिति: : 2021-07-14 20:04:00

प्रतिकृया दिनुहोस्