अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्ने नेपालीभाषी युवाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासका साथ मेरिल्याण्डकाे सक्रिय संस्था ‘साथी बाल्टिमोर’ले आयोजना गरेको ‘साथी कप फुटबल प्रतियोगीता’ भब्य रुपमा सम्पन्न भएको छ। प्रतियाेगिता यही जुलाई १० र ११ गते सम्पन्न भएकाे हाे।
उक्त प्रतियोगितामा मेरिल्याण्ड राज्य भित्रका आठ टिमकाे सहभागिता रहेको थियो। प्रतियोगिता बाल्टिमोरको पुरानो फुटबल क्लब 'बाल्टिमोर एथलेट्टिक्स क्लब'ले जित्याे भने एभ्रेस्ट फुटबल क्लबले दोस्रो स्थान हासिल गर्न सफल भयो।
प्रतियोगीतामा प्रथम पुरस्कार २५०० डलर नगदसहित मेडल, प्रमाण–पत्र र ट्रफी र दोस्रो पुरस्कार १५०० डलर नगदसहित मेडल, प्रमाण–पत्र र ट्रफी रहेको थियो। प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रयोजन गरेको एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले जानकारी दिएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई सम्मान तथा ट्रफी प्रदान गरिएको थियो।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी सुदिप विश्वकर्मा घोषित हुनुका साथै उनी सर्वाधिक गाेलकर्ता समेत बने। उनले सर्वाधिक ६ गोल गर्न सफल भएका थिए।
प्रतियोगिताको समापन कार्यक्रममा विशेष अतिथिहरु मेरील्याण्ड राज्यका अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत, मेरिल्याण्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चार्ल्स योङ्ग, समाजसेवी प्रेमकुमार श्रेष्ठ, एनआरएनए अमेरीकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, सचिव अनुप खनाल, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष तथा खेलकर्मी राजु क्षेत्री, नेपाल प्रहरीका भूपूपुर्व प्रमुख सर्वेन्द्र खनाल, समाजसेवी हेम पाठक, पर्वत समाज अमेरिकाका अध्यक्ष धन गुरुङ, गुरुङ समाज अमेरिकाका अध्यक्ष कुल गुरुङको उपस्थितिमा सम्पन्न भएको थियो।
अबदेखि ‘साथी बाल्टिमोर’ले साथी कप फुटबल प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने बताएका छन्। यही आउँदो सेप्टेम्बरमा ‘साथी कप क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने गरी तयारी सुरू भइकेकाे छ। समापन कार्यक्रममा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाई सम्मान स्वरुप सम्मान–पत्र प्रदान गरेको थियो। साथै मेरिल्याण्ड राज्य डिस्ट्रिक ८ र १० का डेलिगेट्स ह्यारी भण्डारी, कार्ल ज्याक्सन र जे जेलिसीले आयोजक संस्था साथी बाल्टिमोरलाई सम्मान–पत्र प्रदान गरेको थियो।
युवाहरुलाई खेलकुदको माध्यामबाट जोड्दै, सामाजिक अभियानमा सक्रिय गराउन ‘साथी बाल्टिमोर’ बिगत दुई वर्षदेखि मेरिल्याण्ड राज्यमा सक्रिय रहँदै आइरहेको छ। यस्ता प्रतियोगिता आयोजनाले नेपाल र नेपालीभाषी एकता गराउनुको साथै एकआपसमा सहयोग र सहकार्य पनि बढाउने र यस्ता प्रतियोगिता आयोजना निरन्तर गर्नुपर्ने चर्चित खेलाडी तथा एनआरएनए कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले बताएका थिए।