१२० को स्पीडमा रेल कुदाएर रेल्वे ट्रयाकको परीक्षण गरियो

विजय साह

 जनकपुर

बहुप्रतिक्षित नेपाल रेल्वेको ट्रयाक आइतबार परीक्षण गरिएको छ। १ सय २० को स्पीडमा रेल कुदाएर रेल्वे ट्रयाक परीक्षण गरिएको हो।

धनुषाको इनर्बा स्टेशनबाट ११ः१५ बजे गुडेको रेल ११ः४८ मिनटमा कुर्था स्टेशन आइपुगेको छ। कुल ३३ मिनेटमा १२० किलोमिटर प्रतिघण्टाको स्पीडले कुर्था पुगेको हो।

रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आज गरिएको परीक्षण सफल भएको बताए। उनले रेल ट्रयाकमा कहि कतै कुनै समस्या नदेखिएको जनाए।

महाप्रबन्धक भट्टराईले तिन दिन अगाडि नै सूचना जारी गरी साउन ३ गते रेल्वे ट्रयाकको परीक्षण हुने भन्दै ट्रयाकमा गाई, भैँसी, बाख्रासहित कुनै पनि समान र बालबालिकाहरुलाई नछाडन आग्रह गरेका थिए।

उनले रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ गर्ने काम भएको छ। भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिएको जानकारी दिए।

उनले भने, ‘ट्रयाक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नु पूर्वको महत्वपूर्ण प्रक्रिया हो। स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ।’

रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्न भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक मात्र डब्बा र इन्जिनसहितको रेल जनकपुर ल्याइएको थियो।

रेल्वे लिक परीक्षणको लागि नेपाल रेल्वे कम्पानीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर आएका छन्।

ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा कुनै प्रकारको क्षति नभएको जिप्रका धनुषाले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-18 14:36:00

प्रतिकृया दिनुहोस्