धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

हिमाल खबर

काठमाडौँ

किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएकोे सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन्। जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दै छ भन्ने खुलासा।

कहलिएका व्यवसायी पवनकुमार गोल्यान एनएमबि ब्यांकका अध्यक्ष समेत हुन्। ब्यांक, बीमा, होटल, जलविद्युत्, उत्पादन उद्योग लगायतमा लगानी गरेका गोल्यानले पछिल्ला वर्ष कृषि व्यवसायमा हात हालेका छन्। उनको व्यावसायिक समूहले झापाको मदरगाछल, चकचके र घेराबारीमा तरकारी उत्पादन गर्छ र, त्यसका लागि उनलाई सरकारले राज्यकोषबाट अनुदान दिन्छ।

वर्षेनि अर्बौंको कारोबार गर्ने र नाफाको व्यावसायिक साम्राज्य सिर्जना गरेका गोल्यानले इस्टर्न एग्रिकल्चर र बृहत् एग्रो फार्मका नाममा ब्यांकबाट लिएको कृषि कर्जामा सरकारले ब्याज अनुदान दिंदै आएको खोज पत्रकारिता केन्द्र (खोपके) ले गरेको खोजबिनले देखाएको छ।

देशका लाखौं किसानले सरकारी कोषबाट सहयोग नपाएर मजदूरी गर्न विदेशिइरहँदा ठूला व्यावसायिक घराना र अर्बौंको व्यावसायिक साम्राज्य खडा गरेका धन–कुबेरहरूले व्यावसायिक कृषिका लागि भन्दै लिएको ऋणको ब्याज सरकारले तिरिदिएको छ। आम नागरिकबाट उठाएको करबाट दिइने यस्तो अनुदानका लागि अहिलेसम्म कम्तीमा साढे सात अर्ब रुपैयाँ खर्च भइसकेको छ।

प्रकाशित मिति: : 2021-07-20 07:58:00

प्रतिकृया दिनुहोस्