कमला नदीको बाढीले किरतपुरमा बाँध कटान, गाउँ डुबानमा पर्ने खतरा

विजय साह

 जनकपुर

धनुषासिथत कमला नदीमा आएको बाढीले बाँध कटान गर्न थालेपछि त्यसलाई रोकथाम गर्न नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी जोडतोडले जुटेका छन्।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो। बाढीका कारण ६ सय मिटरभन्दा बढी बाँध कटान गरेको छ।

बाढीले बाँध कटान गरेको स्थानमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयबासी मंगलबार बिहानैदेखि मिलेर बालुवा भरिएको बोरा र रुख काटेर बाँध बचाउन जुटेका छन्।

बाँध कटान भएको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, धनुषाका एसपी प्रकाश रानाभाट, जिल्ला समन्वय समित धनुषाका अध्यक्ष, कमला नदी नियन्त्रण आयोजनाका जनकपुर प्रमुख एकराज भट्टराईलगायत जिम्मेवार निकायले अवलोकन गरेका छन्।

बाँध कटान क्षेत्र अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिएको बताए।

बाढी बस्ती क्षेत्रमा पस्ने सम्भावना हाललाई टरेको भएपनि बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा रहेको उनले जानकारी दिए।

कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले १ सय मिटर पूर्व भएर बगिरहेको नदी सोमबार राति पश्चिमी किनार हुँदै बग्न थालेपछि बाँध कटान भएको बताए।

तल्लो भाग २२ मिटर र माथिल्लो भाग ६ मिटर चौडाई भएको बाँध अहिले कटान गरेर कतै–कतै २ मिटर मात्र बाँकी रहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए।

कटानबारे माथिल्लो निकायमा जानकारी गराएका छौं, कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको कारण बाँध बचाउन समस्या भएको उनले जनाए। अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट कटौती गरेपछि  बाँध मर्मतमा समस्या भएको उनले सुनाए।

सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका वडा अध्यक्ष भागिरथ महतोले बाँध कटान भएको स्थानमा ठोस रुपमा बाँध निर्माण हुनुपर्ने बताए।

प्रकाशित मिति: : 2021-07-20 17:07:00

प्रतिकृया दिनुहोस्