दोस्रो तह वार्तामा, नेतृत्व मूठभेडको तयारीमा

अनलाइनखबर

सइन्द्र राई

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरूले युथ फोर्स गठन गरेका छन् । महासचिव ईश्वर पोखरेलले शनिबार युथ फोर्सलाई शपथग्रहण गराए भने उपत्यका कमाण्ड घोषणा गरे ।

कोरोना संक्रमण फेरि बढ्दै गएका बेला युथ फोर्सले राजधानी उपत्यकामा शक्ति प्रदर्शन नै गर्‍यो । शक्ति प्रदर्शनपछि आयोजित शपथ समारोहलाई प्रमुख वक्ताका रुपमा पोखरेलले सम्बोधन गर्दै पार्टी र नेताको रक्षार्थ युथ फोर्स बनेको बताए ।

एमाले सरकार हुँदा कोरोना रोकथामका निम्ति बनेको उच्चस्तरीय समितिका संयोजक रहेका पोखरेलले युवाहरुलाई उत्साहित बनाउने प्रयास गरेका थिए । ‘एमालेको रक्षा गर्ने खम्बाका रुपमा युथ फोर्स रहनुपर्छ । कहींकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथ फोर्सले गर्नुपर्छ’ उनको निर्देशन थियो ।

युवा संघका इन्चार्ज रहेका महेश बस्नेतले त नेतृत्वमाथि खनिने बौद्धिकहरुलाई समेत नछोड्ने चेतावनी दिए । युथ फोर्सले साइबर सेनासँग मिलेर भौतिक कारबाहीमा उत्रिने उनको भनाइ थियो । बस्नेतकै अगुवाइ र पहलकदमीमा २९ असारमा ब्यूँताइएको युथ फोर्सको संयोजक क्षितिज थेबे छन् । ‘अपमान र अन्यायमा परेका जनताको रक्षा गर्न र पार्टी नेतृत्वप्रति भइरहेको आक्रमण विरुद्ध सशक्त प्रतिकार गर्न क्रियाशील हुन्छौं’, थेबे भन्छन् । कतिपय मिडियाले नेतृत्व विरुद्ध तथानाम लेख्ने काम भइरहेकाले सामाजिक सञ्जालमार्फत खण्डन गर्न पनि युथ फोर्स परिचालित हुने उनी बताउँछन् ।

युथ फोर्स २०६५ को एमाले आठौं राष्ट्रिय महाधिवेशनपछि विघटन भएको थियो । त्यसबेला युथ फोर्सका अध्यक्ष रहेका महेश बस्नेत लहानमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट युवा संघको निर्वाचित अध्यक्ष भए । ‘सैन्य प्रकृतिको दस्ता पार्टीलाई आवश्यक छैन । यस्तो संरचनाले राजनीतिमा अपराधीकरण भयो भन्ने निष्कर्षका साथ युथ फोर्स लगायत संरचना पार्टी महाधिवेशनबाटै खारेज भयो’, युवा संघका पूर्वमहासचिव निरज आचार्य भन्छन् ।

प्रकाशित मिति: : 2021-07-26 07:38:00

प्रतिकृया दिनुहोस्