प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएकाे छ। सुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको रियलले रेन्जर्ससँग २–१ को हार बेहोरेको हो।
आइब्रक्स स्टेडियम ग्लास्गोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा फासिअन साकाला र सेडरिक इटेनले गोल गरे। रियलका रोड्रिगोको गोल सान्त्वना बन्यो। खेलको आठौं मिनेटमा नै रोड्रिगोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता कायरम गरेको थियो। तर, रियलले आफ्नो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन।
५५औं मिनेटमा पासिअन साकालाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। खेलकाे ७७औं मिनेटमा रेन्जर्सका सेडरिक इटेनले गरेकाे गोल नै निर्णायक बन्याे। जतिबेला नाचो फर्नान्डेस दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएकाे थियाे।
अब रियलले अर्काे मैत्रीपुर्ण खेल इटालियन क्लब एसी मिलानसँग ८ अगस्टमा खेल्नेछ।