जापानमा जारी टोकियो ओलम्पिक खेलकुदअन्तर्गत स्पेनको यु–२३ टोली पुरुष फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको यु–२३ टोलीसँग १–१ को बराबरी खेल्दै स्पेन ओलम्पिक फुटबलको अन्तिम आठमा प्रवेश गरेको हाे।
उपाधिकाे दाबेदार मानिएकाे अर्जेन्टिना भने समूह चरणबाटै आउट भएको छ। आज भएको अर्को खेलमा इजिप्टले अस्ट्रेलियालाई हराउनु र अर्जेन्टिना रोकिँदा अर्जेन्टिनालाई त्यसको असर परेको हो।
समूह ‘सी’बाट स्पेन ३ खेलसँगै ५ अंकका साथ समूह विजेता बनेर अर्को चरण प्रवेश गरेको छ। आजै अन्तिम खेलमा अस्ट्रेलियालाई २–० ले हराएको इजिप्ट उपविजेता बनेर स्पेनसँग अर्को चरण पुगेको हाे।
यस समूहमा इजिप्ट र अर्जेन्टिनाको समान ४–४ अंक भए पनि माइनस गोल भएपछि (गोलअन्तर) अर्जेन्टिना बाहिरियाे भने इजिप्ट प्लस गोलका आधारमा अघि बढ्यो। ३ अंक भएको अस्ट्रेलिया पनि आउट भएकाे छ।