फिल्ममा जस्तो भिलेनलाई पछारेर हिरो देखिने अभियानमा छैन, अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने कोशिस गर्दैछु: अर्थमन्त्री शर्मा 

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको पनि बताए।

अर्थमन्त्री शर्माले बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको भेटमा उक्त स्पष्टीकरण दिएका हुन्। राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए।

श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको बताए। ‘यो कुनै फिल्म खेल्ने कुरा होइन– भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन। आफूले देखेको कुरा भन्ने हो। जे छ त्यही प्रष्ट राख्ने हो।’

आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थपे, ‘मसँग काम गर्ने धेरै समय छैन। धेरै गर्न सकिने अवस्था पनि छैन तर विषय विज्ञ एवम् तपाईंहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु।’

अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसाबले पहलकदमी अघि बढाइने सोच रहेको पनि बताए।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले तथ्य प्रमाणमा आधारित नीति तय गर्न पत्रकारहरुको लेखाइले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। अर्थतन्त्र कमजोर अवस्थामा रहेको जानकारी दिँदै उनले पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहेनत गर्नुपर्ने अवस्था रहेको बताए।

पत्रकारहरुलाई सूचनामा सहज पहुँच दिलाउन अर्थ मन्त्रालय सदैव तयार रहेको भन्दै सचिव ढुङ्गानाले निर्णय भइनसकेको विषयमा बोल्न उपयुक्त नहुने भएकोले त्यस्तो बेला प्रतिक्रिया दिनको लागि दबाब नगरिदिन पनि आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2021-07-29 17:29:00

प्रतिकृया दिनुहोस्