बालविकास सहजकर्ताको तलब वृद्धि कार्यान्वयनमा आएन, पालिकामा तालाबन्दी

File photo
File photo

नेपाल सरकारले चालू आर्थिक वर्षबाट बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्याउने घोषणा गरेको भए पनि स्थानीय तहले कार्यान्वयनमा ल्याएका छ्रैनन्। 

सरकारले बजेट भाषणमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्याउने घोषणा गरेको थियो। उक्त घोषणामा बढेको तलब स्थानीय तहबाट पाउने बताइएको थियो। 

तर बैतडीको पुर्चौडी नगरपालिकाले त्यसलाई कार्यान्वयन नगरेको भन्दै बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन्। उनीहरुले नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा आज तालाबन्दी गरेका छन्।   

नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गर्ने तर नगरपालिकाले  कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताए।

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो। उनले भने, 'हाम्रा मागको सम्बोधन नहुुँदासम्म तालाबन्दी जारी रहन्छ।'

नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले उनीहरुको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने बताउँदै तत्कालका लागि ताला खोल्न आग्रह गरे। पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी गरी कूल १५१ जना कार्यरत छन्। 

प्रकाशित मिति: : 2021-07-29 20:02:00

प्रतिकृया दिनुहोस्