तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ। गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो।
पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अैरीभिर पूर्ण रुपमा बन्द थियो। पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो।
'गाउँपालिकाकै पहलमा आजबाट पहिरा हटाई ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो' दरैले भने। उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो।
असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए। अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ।