काठमाडौंबासीको मेलम्ची सपनामा फेरि तुषारपात

अनलाइनखबर

काठमाडौँ

 

रवीन्द्र घिमिरे

 

२०४१ सालमा प्रारम्भिक अध्ययन हुँदा मेलम्चीको पानी काठमाडौं आउने कुरा काठमाडौंबासीको लागि सपनाजस्तै थियो । ३६ वर्षको प्रतीक्षापछि गत चैतमा सपना साकार त भयो, तर त्यसले ल्याएको खुसी दुई महिना पनि टिक्न सकेन ।

गत असार १ को बाढीले क्षतिग्रस्त आयोजनालाई शनिबार फेरि आएको बाढीले अनिश्चयतर्फ धकेलिदिएको छ । यो दुर्दशाले काठमाडौंमा मेलम्चीको पानी चाखिसकेका उपभोक्तालाई थप निराश बनाइदिएको छ ।

०४८ को चुनाव प्रचारमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्ने’ सुनाएपछि चर्चामा आएको आयोजनाको निर्माण शुरु गर्न नै १६ वर्ष लाग्यो । २०६४ सालमा निर्माण शुरु भएको आयोजना ठेकेदारहरूले काममा गरेको पटक-पटकको ढिलाइका बीच सम्पन्न नहुँदै गत चैतमा काठमाडौंमा पानी खसालियो ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । सुरुङ सुपरीवेक्षणको प्रोटोकलसमेत मिचेर चैत २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

क्रमैसँग उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी पुगेपछि जेठसम्ममा काठमाडौंमा पानीको हाहाकार कम भइसकेको थियो । काठमाडौंका धेरै ठाउँमा मेलम्चीको पानीले ट्यांकरको पानी किन्नुपर्ने, राति-राति उठेर पानी भर्नुपर्ने, बोरिङ, पम्प, इनार र ट्युबेलको भर पर्नुपर्ने, ढुंगेधारामा लाइन लाग्नुपर्ने अवस्थाबाट मुक्त गरिदिएको थियो ।

प्रकाशित मिति: : 2021-08-02 22:11:00

प्रतिकृया दिनुहोस्