लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।

कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँबराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्न कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2021-08-03 08:28:00

प्रतिकृया दिनुहोस्