अमेरिकामा दर्ता भयो यूएस–नेपाल कराँते एसोसिएसन

बिएल संवाददाता

भरमन्ट, अमेरिका
Symbolic photo
Symbolic photo

नेपाल र नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा ‘यूएस–नेपाल कराँते एसोसिएसन अफ अमेरिका’ नामक संस्था दर्ता भएको छ।

अमेरिकामा अवकाशप्राप्त जीवन बिताइरहेका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टीएस) को नेतृत्वमा उक्त संस्था दर्ता भएको बताइएको छ। अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत रहेका छन्।

भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा भदौ  ३ गते अर्थात् १९ अगस्ट २०२१ का दिन संस्था दर्ता भएको हो।

निर्दलीय पञ्चायती व्यवस्थामा समेत भूमिगत रूपमा कराँते खेललाई प्रवेश गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि नेपालमा कराँते महासंघ गठन गरी त्यसको अगुवाइ गर्ने कामसमेत राईलाई जान्छ।

नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहनुभएका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई संगठित गरी तालिमहरूका लागि ’क्लोज क्याम्प’ संचालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ।

अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ। त्यसमा विश्व कराँते महासंघ र जापान कराँते महासंघका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ।

एसोसिएसन नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको पुनर्मिलन, कला र कौशल विकासमा बाँकी जीवन बिताउने प्रतिबद्धता जनाए। ’एसोसिएसनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीहरूलाई सहयोग पु-याउनु नै हो’, राईले भने।

नेपाल कराँते महासंघको आँकडाअनुसार करिब ७ लाख खेलाडी रहेका छन्।

प्रकाशित मिति: : 2021-08-22 16:06:00

प्रतिकृया दिनुहोस्