गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन।
विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो। अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ।
प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुने/नहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए।
कूल विनियोजित बजेटमा पोखरा रङ्गशालामा मात्रै रु १५ करोड छ। पोखरा रङ्गशालाभित्र हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)का लागि रु छ करोड बजेट यस वर्ष परेको छ। सुटिङका लागि रु दुई करोड विनियोजन गरिएको छ।
यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु पाँच करोड, रङ्गशालामा होभरहेड ट्याङ्की रु एक करोड र पोखरा क्रिकेट मैदानका लागि रु एक करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिए।