आफ्नै श्रीमानको एसिड प्रहारबाट घाइते भएकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले बिहीबार बिहान एसिड पीडित आरतीलाई पाँच लाख रुपैयाँको चेक प्रदान गरेका हुन्।
गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका सञ्जीव साहले पेठिया बजारमा श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए।
सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो। यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो।
घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो।
दुवैजनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो। एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ। एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो।