सुकिला मुख्यमन्त्री शेरधनका साढे तीन वर्ष: सबैभन्दा चर्चित काम हेलिकप्टर चार्टर गरी ससुराली यात्रा

तेजन खड्का

विराटनगर
Photo: facebook/janmu enn sherpa
Photo: facebook/janmu enn sherpa

जनताले सम्झिरहने केही पनि काम नगरी प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई पदबाट बाहिरिएका छन्। तीन वर्ष पाँच महिना सात दिन प्रदेश सरकारको नेतृत्व गरेका राईले यस अवधिमा व्यक्तिगत जीवनमा भने ठूलै उपलब्धिमूलक काम गरे।

भोजपुरका ४९ वर्षीय राईले मुख्यमन्त्री भएकै बेला सङ्खुवासभा स्थायी घर भए पनि अमेरिकामा हुर्किएकी आधुनिक कन्या २३ वर्षीया जाङ्मु शेर्पासँग भव्य विवाह गरे। राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित काठमाडौंका पदासिन उच्च पदस्थ नेताहरुलाई भव्य पार्टी खुवाए। शायद् अमेरिकामा हुर्केकी २६ वर्ष कान्छी जाङ्मुले महसुस गरिहोलिन्– मैले कति ठूलो मान्छेसँग बिहे गरेँ भनेर।

विवाहको केही समयपछि नै शेरधन राईको शक्ति सामाजिक सञ्जालमा देखियो। ससुरालीका कोही पनि नबस्ने संखुवासभाको ससुराली गाउँमा उनी तीन वटा हेलिकप्टर चार्टर गरेर पुगे– सपत्नी। 

नवविवाहिता दुलही जाङमु शेर्पालाई साथमा लिएर मुख्यमन्त्री राई श्रीमतीको जन्मथलो संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका थिए, जहाँ मुख्यमन्त्री राईको भव्य स्वागत गरिएको थियो। उक्त भव्यताको तस्बिर शेरधन स्वयमले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए।त्यसपछि उनको 'चर्चा' घर–घर र जनजनमा चुलिएको थियो। सामाजिक सञ्जालमा यसबारे बहस भएको थियो। मुख्यमन्त्रीका रुपमा उनी पदासीन भएपछिका साढे तीन वर्षमा उनको सबैभन्दा 'चर्चा' भएको काम यही थियो। जो उनको निजी जीवनमा सबैभन्दा प्रभाव राख्ने तर जनताको जीवनमा कुनै सरोकार नराख्ने र अनुकरण गर्न नहुने काम थियो।

२०७४ फागुन ३ मा मुख्यमन्त्री चुनिएका थिए– राई। एमालेका केन्द्रीय सचिव भीम आचार्यलाई संसदीय दलभित्रको गोप्य मतदानमा दुई मतले हराएर उनी मुख्यमन्त्री भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीका माइती गाउँका जनप्रतिनिधि उनले 'दिदी'को शक्ति देखाइदिएका थिए– एमाले पूर्वअध्यक्ष झलनाथ खनालका दाजुकी छोरी बिहे गरेका ज्वाइँ भीम आचार्यलाई। आचार्यलाई समर्थन गर्ने तत्कालीन माधव नेपाल गुटको बहुमत भएको प्रदेशमा दिदीको अदृश्य शक्तिको परिणाम देखाइदिएका थिए।

साढे तीन वर्ष लामो कार्यकालमा उनले आफ्नो बिहेबाहेक केही पनि उल्लेखनीय कार्य गरेनन्। बरु प्रदेशसभाभित्र चुनावमै एमालेका उच्च नेतालाई हराएका उनले केपी ओली समूहको प्रभाव घटाए। अन्तत: पद थेग्न नसक्ने बरु पदमा बसिरहे कुर्सीले थिच्ने अवस्थामा पुगिसकेका थिए, त्यसपछि भदौ ९ गते बुधबार एमाले अध्यक्ष ओलीले बालकोट बोलाए। एमाले सचिव भीम आचार्यलाई शक्ति हस्तान्तरण गर्न आदेश दिए। अनि त्यसको एक दिनपछि बिहीबारै संसदीय दलको बैठक डाकी धराप भइसकेको मुख्यमन्त्रीको कुर्सी भीम आचार्यलाई शान्तिपूर्ण हस्तान्तरण गरे।

पछिल्लो समय त मुख्यमन्त्रीको शैली राजाजस्तै भएको थियो। 'बिहान नौ बजेसम्म त उहाँको मोबाइल फोनसम्म उठ्दैनथ्यो', एमालेका एक प्रदेशसभा सदस्यले भने, 'नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण भन्ने मुद्दा नै उठाउन नमिल्ने बनाइदिए शेरधनले। उता ७० पुगेका प्रधानमन्त्री केपी ओली १८ घण्टा काम गर्थे। यता शेरधन चाहिँ पार्वती बिहे गरेपछिका महादेव जस्ता। नयाँपुस्ताका नमूना थिए उनी। भोजपुरको चुनाव क्षेत्रदेखि नातागोतामा सीमित थिए उनी। आनन्द भयो बरु !'

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राईले सामाजिक सञ्जालमा आफ्नो कार्यकालका उपलब्धिको व्याख्या गर्ने प्रयास गरेका छन्। प्रदेशको नामसम्म टुंगो लगाउन नसकेका उनले स्वयम् आफ्नो कार्यकालमा खासै काम गर्न नसकेको उल्लेख गरेका छन्। यति लामो अवधिसम्म उनले प्रदेश राजधानीको संरचना बनाएर कार्यालय सार्ने कामसमेत गर्नु आवश्यक ठानेनन्।

‘संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरु, वर्षहरु सजिला थिएनन्। तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडी बढ्यौँ’, शेरधनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘मलाई गर्व छ। धेरै गर्न सकिन होला तर मैले गलत गरेको छैन। लगभग साढे तीन वर्षे कार्यकालमा मलाई साथ सहयोग, सदभाव र शुभेच्छा प्रकट गर्दै मलाई सफल बनाउनुहुने सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु।'

साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा राईले जग्गा कारोवारीलाई हित हुने गरी नै किन नहोस्– प्रदेश राजधानीको जसोतसो टुंगो लगाए तर प्रदेशको नामकरण भने गर्न सकेनन्। सरकारका संरचनाहरूसमेत एक ठाउँमा नरहने गरी राजधानी टुंग्याइएकोप्रति स्थानीयबासीको असन्तुष्टि व्याप्त छ।कर्णाली, सुदूर–पश्चिम, लुम्बिनी, गण्डकी र वागमती प्रदेशले नाम र राजधानी यसअघि नै टुंगो लगाइसकेका छन्। जागीर मात्र खाएर बस्ने, अलिकति पनि पहल नलिने राईको निस्कृयताकै कारण प्रदेशको नाम नटुंगिएको हो।  उनले पटक–पटक भने– सर्वसम्मतिबाट प्रदेशको नामकरण टुंग्याउने छौँ। बर्खे अधिवेशनबाट प्रदेशको नामकरण गर्ने घोषणा गरेका उनले नामकरणको प्रस्ताव नै पेस नगरी अधिवेशन अन्त्य गरे।

एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि राई नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमत प्राप्त थियो। राईले चाहेको भए त्यतिबेला नै प्रदेशको राजधानीसँगै नामकरणको काम पनि टुंगो लगाउन सक्थे तर त्यसमा उनले पहल नै लिएनन्। उनको केशजस्तै कुरा पनि सधैँ चिप्लो देखियो। अनि काम गर्न सकेनन्। संघीयता कार्यान्वयनमा समेत उनले माखो नमारेको एमालेकै एक प्रदेशसभा सदस्यले नाम नलेख्न आग्रह गर्दै बताए।

राई आफ्नो कार्यकालमा मुख्यमन्त्री सम्पर्क कार्यालयका कारण विवादित बने। काठमाडौं र धनकुटामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएर अनावश्यक खर्च गरेपछि मुख्यमन्त्री राईमाथि प्रश्न उठाइएको थियो।

करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन्। कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ। मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना सवारी चालकसमेत  पनि राखिएको छ।

संघीय काठमाडौंमा पनि मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी आवास तथा सम्पर्क कार्यालयका लागि घर भाडामा लिएपछि राई विवादमा मात्रै तानिएनन्, महालेखा नियन्त्रकको कार्यालयले प्रश्नसमेत उठाएको छ।

उनी मुख्यमन्त्री भएकै अवधिमा दोलखा घर भएको बताउँने युवती बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिन्– आफू राईको श्रीमती दाबी गर्दै। त्यो ‘काण्ड’ले राई निक्कै तनावमा परेका थिए। भलै यो काण्ड भने राईले जितेका छन्। शायद् यसैबीच विवाह भएकाले अब यस्तो आरोप उनले व्यहोर्नुपर्ने छैन।

मुख्यमन्त्री राईको आफ्नै स्ट्याटसले बताउँछ–  उनको सफलता नै साढे तीन वर्ष मुख्यमन्त्रीकी कुर्सीमा असीन हुनु हो। आत्ममूल्याङ्कन जनताले आफ्नो आयुको साढे तीन वर्ष व्यर्थ खेर फालेका छन्। सुकिलो भएर सधैँ केशमा तेल लगाउने मुख्यमन्त्रीको चम्किलो अनुहार र सफेदपोश पहिरन भने प्रदेशवासीका लागि अनुकरणीय हुने छ।

प्रकाशित मिति: : 2021-08-27 19:33:00

प्रतिकृया दिनुहोस्