सत्ताको लोभ छैन, म नेकपा एमालेमै रहन्छु : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

पहिलोपोष्ट

काठमाडौं

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताएकी छिन्।

हेटौंडामा आज एक कार्यक्रमबिच एमाले उपाध्यक्ष र वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी शाक्यले सरकार जोगाउनकै लागि नेकपा एमाले पार्टी परिवर्तन गरेर अन्य पार्टीमा नजाने बताएकी हुन्।

नेकपा एमाले पार्टी विभाजनले आधिकारिकता पाएलगत्तै शाक्य सरकार अल्पमतमा परेको छ।

'सत्तामा टिक्नकै लागि हो भने त मलाई वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलजीले पहिल्यै मुख्यमन्त्रीको प्रस्ताव गर्नुभयो थियो। अहिले पनि म नेकपा एमाले एकतावद्ध बनाउन कै लागि यस्तो परिस्थितिमा मुख्यमन्त्री बनेको हुँ,'उनले भनिन्,' म आफुले लामो समयसम्म संघर्ष गरेर आएको नेकपा एमाले पार्टीमै रहनेछु। सत्ताको लोभ छैन म कहिले पनि पार्टी फुटको पक्षमा छैन। नयाँ पार्टीमा म जान सक्दिन।'

एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन भएकै दिन शाक्य प्रदेशको मुख्यमन्त्री बनेकी हुन्।

बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब भने उनले विश्वासको मत लिनु पर्ने भएको छ। विश्वासको मत पाए शाक्य नेतृत्वको सरकारले निरन्तरता पाउनेछ भने मत पाउन नसके नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रदेशको अंकगणित

११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा एक जना सदस्यको मृत्यु भएपछि हाल १०९ सदस्य छन्। सरकार गठनको लागि ५६ जना सांसद आवश्यक पर्छ।

हालसम्म सभामुखसहित ५६ जना सांसद रहेको एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर, औपचारिक रूपमा एमाले फुटेर दुई दलमा विभाजन भएसँगै एमालेले बहुममत गुमाउने निश्चित भएको छ।

५६ सांसदबाट राजेन्द्र पाण्डे, वसन्त मानन्धर, कृष्णप्रसाद शर्मा खनालले माधव कुमार नेतृत्वको पार्टी छनौछ गरिसकेका छन्। अझै केही प्रदेशसभा सांसद नेकपा एकीकृत समाजवादीमा जाने बताइएको छ। प्रदेशसभा सांसदहरु एकीकृत समाजवादीमा गएसँगै एमालेले सदनमा बहुमत गुमाएको हो। प्रदेशसभा सांसदहरुलाई एमाले र एकीकृत समाजवादी पार्टीबिच एउटा छनोट गर्न अब १८ दिनमात्रै समय बांकी छ।

प्रकाशित मिति: : 2021-08-27 20:56:00

प्रतिकृया दिनुहोस्