मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुग्ने

नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय टोली आज (सोमवार) नेपाल आइपुग्ने भएका छन्।

साफ च्याम्पियनसिपका लागि अभ्यासरत रहेका दुवै टोलीले तयारीका लागि दुई मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। नेपालविरुद्ध खेलका लागि भारतले बलियो टोली घोषणा गरेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)को जानकारी अनुसार कप्तान सुनिल क्षेत्री तथा मुख्य प्रशिक्षक इगोर स्टिमाकको नेतृत्वमा २५ भारतीय खेलाडी सोमवार अपरान्ह ३:४५ बजे काठमाडौं टचडाउन गर्नेछन्।

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते खेलिने तालिका रहेको छ। एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली साफ च्याम्पियनसिपको तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ।

सोमवार नेपाल आउने भारतीय टोली:

सुनिल क्षेत्री (कप्तान), अमरिन्दर सिंह(गोलरक्षक), धीरज सिंह(गोलरक्षक), गुरप्रितसिंह सन्धु(गोलरक्षक), प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली र फारुख चौधरी।

प्रकाशित मिति: : 2021-08-30 14:36:00

प्रतिकृया दिनुहोस्