नेपाल–भारत मैत्रीपूर्ण फुटबल : जित निकाल्ने नेपालकाे विश्वास

१३औँ संस्करणको साफ च्याम्पियनसिप आगामी १ देखि १६ सम्म अक्टोबरमा माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदैछ। कोरोना महामारीले धकेलिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सबैभन्दा ठुलो प्रतियोगिताको तयारी सहभागी टोलीले उत्साहको साथ गर्न पाएका छैनन्। कोरोनाकै कारण नियमित प्रतियोगिता समेत हुन पाएका छैनन्।

नियमित लिग र राष्ट्रिय टिमको तयारी अभावमा हाल नेपाली राष्ट्रिय फुटबल टोली र भारतीय  राष्ट्रिय टोलीबीच दुई मैत्रिपूर्ण खेल हुन गइरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)काअनुसार यस मैत्रीपूर्ण आयोजनाका लागि भारत आफैले प्रस्ताव गरेको थियो। एन्फाले दुबै खेल दशरथ रंगशालामा गर्ने निर्णय गरेकाे छ चिरपरिचित नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो तथा आइतबार (२० भदौ )मा दोस्रो मैत्रीपूर्ण खेल हुनेछ। दुबै खेल एकै मैदानमा एकै समय (साँझ ५ः३०) मा हुनेछ। 

साफको तयारीका लागि खेल्न लागिएको यस प्रतियोगिताले भने फिफा वरियतामा निकै ठूलाे असर गर्नेछ। त्यसैले खेलअघि दुबै टोली होसियार छन्। यदि हारेको खण्डमा यस खेलले साफको लागि मात्रै हैन, आगामी एसिया कपको तेस्रो चरणको समूह तालिका सार्वजनिकमासमेत ठूलाे असर गर्नेछ।

हाल फिफा वरियतामा भारत १०५ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा छ। नेपालविरुद्ध खेल जित्दै भारत फिफा वरियतामा आफूभन्दा माथि रहेको प्यालेस्टाइन (१०२स्थान) माथि जान चाहन्छ। 

यता, नेपालसमेत भारतलाई पराजित गर्दै आफ्नो वरियता सुधार्दै भारतलाई तालिका सार्वजनिक अघि ‘पोट १’ पुग्न रोक्ने दाउमा छ। नेपालसमेत सहज समूहको खोजीमा छ। त्यसैले यो दुई मैत्रीपूर्ण खेल एक प्रतिष्ठाको लडाइँ, दोस्रो एएफसी कप तालिकामा राम्रो स्थान हात पार्ने  र तेस्रो आगामी साफमा आफूलाई उपाधि दाबेदारी प्रस्तुत गर्न हुनेछ। 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भारतविरुद्ध गोर्खाली खेल खेल्ने र उसलाई पराजित गर्ने टोलीको एउटै लक्ष्य हुने बताउँछन्। 

‘हामीले दुई महिनादेखि तयारी गरिरहेका छौं। भारतभन्दा पनि हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण छ। यो एक मैत्रीपूर्ण खेल मात्रै हो। हामी वीर गोर्खाली हौं। हाम्रो उद्देश्य जितमात्र हो’, प्रो लाइसेन्स प्राप्त कुवेती नागरिक अब्दुल्लाहले खेल अघि भने। 

यस्तै प्रशिक्षक अब्दुल्लाहले भारतसँग हारेपनि केहि फरक नपर्ने र यो साफ च्याम्पियनसिप नभएकाले हतोत्साही हुनु नपर्ने तर्क गरे। उनले नेपाली टोलीलाई देखेर नेपालीले गर्व गर्ने बनाउनु आफ्नो जिम्मेवारीसमेत रहेको बताए। 

‘हामी यो मात्र हैन, हरेक खेल जित्न चाहन्छौं। नेपाली टोलीलाई देखेर नेपालीले गर्व गर्ने बनाउनु मेरो जिम्मेवारी हो। हामी इतिहासको होइन, भविष्यको कुरा गर्छाै‌ं। यदि, भारतसँग हारेपनि केही फरक पर्दैन। यो साफ च्याम्पियनसिप होइन’, गत चैतमा पहिलोपटक नेपाल उत्रिएका प्रशिक्षक अब्दुल्लाहले भने। 

नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले भारतविरुद्ध नतिजा महत्वपूर्ण हुने बताउँदै साफ अगाडि आफ्नो टोलीको कमिकमजोर पत्ता लगाउने अवसर रहेको बताए। 

‘दुई महिनाभन्दा लामो तयारीले हामी राम्रो ‘सेप’मा छौं। घरेलु मैदानमा कोभिडको महामारीमा पनि भारतसँग मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर हो। ‘फिफा डेट’मा हुने भएकाले हामीलाई रिजल्ट महत्वपूर्ण छ। रिजल्टका लागि खेल्छौं। यो खेलबाट हामी कहाँ छौं ? हाम्रो कमजोरी र स्ट्रेन्ट पत्ता लगाउन यो खेल महत्वपूर्ण छ ’,  नेपाल राष्ट्रिय टोलीमा सर्वाधिक ७३ क्यापको रेकर्ड बराबर नजिक रहेका किरणले बताए। 

यसअघि थ्री नेसन्स कपमा राष्ट्रिय टोलीबाट सन्यास लिएका कप्तान विराज महर्जनको नाममा सर्वाधिक ७३ क्यापको रेकर्ड रहेको छ। यदि भारतविरुद्ध दुबै खेल खेले किरण नेपाल राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाउने छन्। 

यस्तै कप्तान तथा गोलरक्षक किरणले भारत बलियो टोली रहेको र भारतविरुद्धको खेल एकदमै कठिन र महत्वपूर्ण हुने बताए। ‘भारतसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ। अहिलेसम्म खेलेको कुनै खेल सहज थिएन। अबका खेल एकदमै कठिन र महत्वपूर्ण छ।’ थ्री नेसन्स कपबाट नियमित टोलीको कप्तानी गरिरहेका किरणले खेल अघि भने। 

यसैबीच नेपाल सरकारले नेपाल र भारतबीचको खेलका लागि रंगशालाको कुल क्षमताको ३३ प्रतिशत दर्शक प्रवेश दिने भएको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाकाअनुसार खेलमा कोरोना खोप लगाएका र पिसिआर रिपोर्ट नेगेटिभ आउने मात्रै रंगशाला प्रवेश पाउनेछन्। 

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ। जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ। हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ। चार खेल भने बराबरीमा समाप्त भएका छन्। भारतले ३३ गोल गर्दा नेपालले नाै गोल मात्रै गरेको छ। 

नेपाल र भारतले पहिलोपटक २० डिसेम्बर १९८५ मा एक अर्काविरुद्ध खेलेका थिए। जुन खेल गोेलविहीन थियो। त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो। 

दुई टोलीले अन्तिमपटक ६ जुन २०१७ मा खेलेका थिए। भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो। भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए। नेपालले अन्तिमपटक घरेलु मैदानमा भारतसँग १७ मार्च २०१५ मा खेलेको थियो। फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो। 

नेपाल र भारतबीचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका हालका कप्तान सुनिल क्षेत्री रहेका छन्। उनले आठ खेल खेल्दै पाँच गोल गरेका छन्। यस्तै आईएम विजयन र कार्लटन चापम्यानले समान तीन गोल गरेका छन्। 

यता, भारतीय टोलीसमेत नेपालदेखि सजक रहनेछ। काठमाडाैँ उपत्यकाको मौसममा खासै घुलमिल हुन नपाएको भारतीय टाेली नेपाली युवा टोलीसँग सजक रहने देखिन्छ। भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले मौसमले साथ दिए राम्रो फुटबल खेल्न प्रयास गर्ने र यो खेल साफको लागि राम्रो तयारी हुने बताए। 

‘मौसम ठिक भयो भने राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं। हामी आफ्नो उत्कृष्ट दिनेछौं। साफ अगाडि यो खेल खेल्न पाउनु राम्रो कुरा हो’,  भारतका लागि क्रोयशियन प्रशिक्षक स्टिम्याकले भने। 

यस्तै स्टिम्याकले नेपाली टोलीमा युवा खेलाडीलाई मौका दिएको र राम्रो फुटबल खेलिरहेको बताए। ‘नेपालले ‘प्रोग्रेस’ गरेको छ। राम्रो फुटबल खेल्न सक्छ भन्ने देखाएको छ। युवालाई मौका दिइरहेको छन्। त्यो राम्रो कुरा हो’, प्रशिक्षक स्टिम्याकले भने। 

यसअघि भारतीय टोलीले मैत्रीपूर्ण खेलको लागि कोलकत्तामा करिब तीन साता प्रशिक्षण गरेको थियो। युवा खेलाडी प्रशिक्षणमा सहभागी हुँदा अनुभवी तथा सिनियर खेलाडी भने एएफसी कप खेल्न माल्दिभ्समा रहेका थिए। नेपालसँग खेल्नु अघि भारतीय टोलीले कोलकत्तामा पूर्ण तयारी गर्न पाएको छैन। गत बुधबार नेपाल आएको टोलीमा सोमबारमात्रै एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडी कोलकत्तामा सहभागी भएका थिए।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न कठिन हुने बताए। ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ’,  ३७ बर्षिय नेपाली मुलका भारतीय कप्तान सुनिलले भने। 

रमेश सुवेदी/न्युज कारखाना  

प्रकाशित मिति: : 2021-09-01 17:15:00

प्रतिकृया दिनुहोस्