नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए।
दर्शक मैदानमा प्रवेशका लागि एन्फाले आज अनुमतिपत्र पाएको हो। नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५ः३० बजे खेल शुरु हुनेछ। दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ।
एन्फा अध्यक्ष एवं मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहका अनुसार दर्शक मैदानमा प्रवेशका लागि रङ्गशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ। नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने उनले बताए।
नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो। मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो। नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो। नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो। उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो।
नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए।
भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ। विश्व फुटबल महासङ्घ (फिफा)को बरियाताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ।