काेराेना संक्रमणकाे अङ्कभार ६५ भन्दा बढी देखिए 'रेडजोन'मा राखिने

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ।

जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताए। अधिकृत वाग्लेले भने, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ। भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ। अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन्।”

उनले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाए। पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उनको भनाइ छ।

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक सङ्घ सदस्य छन्।

प्रकाशित मिति: : 2021-09-04 08:37:00

प्रतिकृया दिनुहोस्