चार वर्षसम्म डाक्टरको नियुक्ति शून्य : जनस्वास्थ्यमाथि ज्यानमारा खेल

अनलाइनखबर

रुद्र पंगेनी

कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर आउनुअघि नै कैलालीको टीकापुर अस्पतालले सातवटा भेन्टिलेटर जुटायो। तर, भेन्टिलेटर चलाउने जनशक्ति र ‘क्रिटिकल केयर’ का चिकित्सक नहुँदा समयमै अस्पताल पुगेका संक्रमितले पनि ज्यान गुमाए। गएको जेठसम्म कोरोना संक्रमणकै कारण अस्पतालमै ४६ जनाको मृत्यु भयो। टीकापुर अस्पतालका अध्यक्ष दीपक रावल भन्छन्, ‘हामीसँग उपकरण थियो तर, डाक्टर पाएनौं। भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा धेरैलाई बचाउन सकिएन।’

अस्पतालमा ‘एनेस्थेसियोलोजिस्ट’ समेत ८ जना विशेषज्ञ चिकित्सक र चार जना मेडिकल अफिसरको (सरकारी) दरबन्दी छ, तर वर्षौंदेखि रिक्त। करारमा चिकित्सक नियुक्त गर्न अस्पतालले पटक-पटक सूचना जारी गर्‍यो, तर आवेदन नै परेन । रावलले थपे, ‘डाक्टर नपाएपछि केन्द्र र प्रदेश सरकारलाई गुहार्‍यौं। तर, आश्वासन बाहेक केही पाएनौं।’

दातृ संस्थाको सहयोग, दुईवर्षे छात्रवृत्ति करार, आमा सुरक्षा जस्ता विभिन्न कार्यक्रम र स्थानीय सरकारको सहयोगमा करारमा नियुक्त चिकित्सकबाट चलेको छ- टीकापुर अस्पताल। मेडिकल सुपरिन्टेन्डेन्ट रेमकुमार राई भन्छन्, ‘छात्रवृत्ति र करारका चिकित्सकबाट मात्रै स्वास्थ्य सेवा दिगो र भरपर्दो हुँदैन।’

प्रकाशित मिति: : 2021-09-06 15:53:00

प्रतिकृया दिनुहोस्