टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी।
कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उनलाई। गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई।
उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख ज्यूँका त्यूँ छन्। कोभिडका कारण जारी निषेधाज्ञाको परवाह छैन उनलाई, परवाह छ त भोक-प्यास मेटाउन कामको अनि थोरै आम्दानीको।
दैलेख ठाटीकाँध- १ का आउँसे सुजी यसरी नै गुजारा गरिरहेका छन्। वडा- १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर उनले गिट्टी कुटेरै दैनिकी चलाएको निकै समय भयो।
सुनसान बिहान भालेको डाकसँगै आउँछन् र दिनभरि गिट्टी कुट्छन् उनी। बिहानको खाना खाएर ३० किलोको एक बोरा गिट्टी कुटेबापत प्रति बोराको ७० रुपैयाँ पाउँछन् आउँसे।
'कोभिडको समयमा घरमै बसे हुने म बूढाले', उनले भने, ‘के गरौँ बाबै ! काम नगरी साँझ चुह्लो बल्दैन काम गर्नै पर्यो। गिट्टी कुट्दाकुट्दा बूढेसकालमा मुटु दुख्छ, हात-खुट्टा गलेर खाइना छन्।’
गिट्टी कुट्दाकुट्दा फुटेका हात देखाउँदै उनले भने, ‘आँखा पनि राम्रोसँग देख्दैन, हथौडा गिट्टीमा बजार्दा उल्टै हातमा बाजारिन्छ, म बूढाका दुःख !
पहिले श्रीमती हुँदा यति दुःख गर्नुपर्दैन थियो। दुई बूढाबूढी भैँसी पाल्थ्यौँ, घीउ बेच्थ्यौं,अहिले श्रीमतीले छाडेर गैहाली।'
उनकी श्रीमतीको मृत्यु भएको छ वर्ष पुग्यो। श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको बताउँछन् उनी। 'श्रीमती भएकी भए बरु आफैँ काम गर्थें, श्रीमतीलाई घरमै खाना बनाउन भन्थेँ, यतिका दुःख त हुन्थेनन्', उनले भने।
बिहानदेखि साँझसम्म गिट्टी कुट्दाकुट्दा कहिले साँझ परेको पत्तै पाउँदैनन् उनी। 'छामछुम गरेर अँध्यारोमा घर जान्छु', उनी भन्छन्।
घरमा सुजीसहित १६ वर्षीय नाति छन्। नातिले पानी ल्याएर आगो बाले बल्छ, नत्र त्यसै सुत्ने उनी सुनाउँछन्। दिउँसोको उखर्माउलो गर्मीमा गिट्टी कुट्दा फुटेका हात देख्दा नातिले ‘बाज्या, मेरो लागि हजुरलाई बूढेसकालमा यसरी हात फोर्नुपरेको छ है ! हजुरको नातिले केही गर्न सकेन है !’ भनेर झन् भावुक बनाएर टुप्लुक्क आँसु खसाल्दै अँगालोमा आउने उनले बताए ।
'क्या गर्नु बाबै ! तरुनै हुने बेला बरु सुख पाइएका हुन्। ऊ बेला सुख पाएर हो कि अहिले बूढेसकालमा यसरी दुःख गर्नुपरेको छ। हाम्रा पनि सुखका दिन आउलान् नि भनेर मन बुझाउँछु', उनले निराशा पोखे।
गाउँगाउमा सिंहदरबार आयो भन्छन् तर आफू जस्ता बूढाले यसरी दु:ख पाएको ती सिंहदरबारले किहले देख्लान् ? भन्ने लागेको छ उनलाई।