सुदूरपश्चिममा सङ्क्रमणदर बढ्यो, एकैदिन ७० जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर ह्वात्तै बढेको छ। आज यहाँ थप ७० मा सङ्क्रमण पुष्टि भएको हो। 

सोमबारको तुलनामा मङ्गलबार तेब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोमबार यहाँ २२ जनामा सङ्क्रमण देखिएको थियो। 

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार २२ जनाको नमूना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो। पीसीआर विधिमार्फत ४१ र एन्टीजेन विधिमार्फत २९ मा सङ्क्रमण देखिएको हो।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच/पाँच, महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। 

यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ, कैलाली बाजुरा र बझाङका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।

गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। 

प्रकाशित मिति: : 2021-09-14 22:10:00

प्रतिकृया दिनुहोस्