संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले  संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरे। अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, 'संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ।'

पूर्वप्रधानमन्त्री नेपालले  पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन्।

सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गरेका हुन्। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ। रासस

प्रकाशित मिति: : 2021-09-19 06:58:00

प्रतिकृया दिनुहोस्